
काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ ।
टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो ।
समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित यहाँका नागरिक मर्कामा पर्दै आएका छन् ।
भौगोलिक रूपमा विकट हुम्लामा कम्पनीले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् ।
कमिसनको खेलले चार महिना बित्दा समेत चामल ढुवानी हुन नसकेको बताइएको छ । हुम्लाका लागि चालु आर्थिक वर्षमा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको छ ।
अहिलेसम्म एक हजार ३ सय ४२ क्विन्टल चामल हवाइमार्ग र एक हजार १ सय ३१ क्विन्टल चामल स्थलमार्गबाट ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले जनाएको छ ।
चार महिनापछि बल्ल चामल वितरण गरेको भए पनि स्थानीयबासीले एक महिनाको मात्रै चामल पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्