११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


दुर्घटना न्यूनीकरणका लागि चालकसँग चिया


0
Shares

रौतहट, फागुन २ । रौतहट प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चालकसँग चिया कार्यक्रम अघि सारेको छ ।

रातीको समयमा सञ्चालन हुने सवारी साधन केही समय रोकेर आराम गर्न लगाई चालकलाई चिया खुवाउने कार्यक्रम रौतहट प्रहरीले अघि सारेको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय र ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा चन्द्रपुर नगरपालिकाको बागमतीमा चालकसँग चिया कार्यक्रम गरिएको छ ।

लामो दुरीमा सवारी साधन चलाउँदा चालक निदाउनाले दुर्घटना बढेको भन्दै यो कार्यक्रम अघि सारेको प्रहरीले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि केही बेर चालकलाई सवारी साधन रोक्न लगाई आरामका साथ चिया खुवाएर गन्तव्यतर्फ जान अनुरोध गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख शैलेश न्यौपानेले जानकारी दिए ।

चिया खुवाउँदाको समयमा ट्राफिक प्रहरी र चालकबीच ट्राफिक ज्ञानबारे सिकाउनु सराहनीय रहेको रात्रीबस सेवाका चालक रमेश थापाले बताए ।