
काठमाडौं । आम नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउन समेत पाएका छैनन् ।
उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । सडक, सिँचाइलगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको छैन ।तर सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ ।
छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो। आम नागरिकको आलोचनाकाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैंसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ ।
१ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले ती भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको छ । आगामी दसैंसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको छ ।
सो परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो। निर्माणाधीन मन्त्री क्वार्टरकोे ‘इन्टेरियर डिजाइन’देखि अन्य सजावटका सामग्री खरिदका लागि २४ करोड रुपैयाँको बजेट बनाएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ ।
२४ करोडमा इन्टेरियर डिजाइनदेखि मन्त्री क्वार्टरका फर्निचर, बेड, मिटिङ हलका कुर्चीदेखि पर्दा, किचन सामग्रीलगायत रहेको आयोजनाका निर्देशक दिलीपशेखर श्रेष्ठले बताउनु भएको छ । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्