
डम्मर बुढा (ईमेज)
बागलुङ, फागुन २ । बागलुङको गलकोट नगरपालिकाको हरिनचौर आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको छ ।
हरिनचौरमा अवस्थित ऐतिहासिक गलकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गए मर्मतसम्भारमा भने सरोकारवालाको ध्यान जान सकेको छैन ।
बाग्लुङको सुन्दरस्थल हरिनचौर धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । यहाँका धार्मिक तथा पर्यटकीयगन्तव्य मध्येको ऐतिहासिक गलकोट दरबार पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।
तर दरबार संरक्षणको अभावमा पछिल्लो समय जीर्ण बन्दै गएको छ । ऐतिहासिक दस्तावेजअनुसार गलकोट राज्यका पहिलो राजा जितारीमल्ल हुन् भने अन्तिम राजा जगत् मल्ल थिए ।
एकीकरण अभियानमा राज्य गाभिएपछि सत्ताच्यूत भएका मल्लको सर्वस्वहरण समेत भयो । तत्कालीन शासकसँग अनुनय विनय गरी फिर्ता पाएको जग्गा अहिले पनि मल्ल परिवारकै नाममा छ ।
तत्कालिन माओवादी कार्यकर्ताले वि.स. २०५९ सालमा माधव बम मल्ललाई दरबारकै प्राङ्गणमा हत्या गरेसँगै मल्ल परिवारको विरासत ढल्न पुग्यो । दरबारसँग जोडिएको इतिहास बुझ्न र अवलोकन गर्नका लागि आन्तरिक पर्यटकको दिनहुँ घुइँचो लाग्ने स्थानीय टेकबहादुर हमालको भनाइ छ ।
यता, गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले दरबार क्षेत्र हालसम्म व्यक्तिको नाममा रहेको हुँदा स्थानीय सरकारले केही गर्न नसकेको र अबका दिनमा भने यसको संरक्षण सम्वद्र्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने धारणा राखे ।
ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पनि दरबारको सरंक्षण अपरिहार्य भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्