१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरलेनै मिच्यो कानून, टुकुचा खोलामाथि सार्वजनिक शौचालय


8.736k
Shares

काठमाडौं, माघ ९ । काठमाडौं उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकारले वर्षेनी करोडौं रकम सिध्याउँछ । अचम्म त के छ भने तिनै नदी प्रदूषित बनाउने काममा सरकारकै अर्को निकायले लाखौं बजेट खन्याउँछ । काठमाडौं महानगरभित्रको घना बस्ती रहेको पुतलीसडकस्थित टुकुचा खोलामाथि जनप्रतिनिधिको सनकमा अवैध सार्वजनिक शौचालय बनाइएको छ । नक्सा पास नगरी मापदण्ड विपरीत बनाइएको शौचालयले विधिको शासनमाथि मानमर्दन गरेको छ नै, स्वच्छ, सफा र हराभरा अभियानको धज्जी उडाएको छ ।

काठमाडौं उपत्यकामा कुनै भौतिक संरचना निर्माण गर्दा नियमन गर्ने निकायले नै विधि र कानुनको उपहास ग¥यो भने के हुन्छ ? हो, काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ ले त्यस्तै विधि मिच्ने काम गरेको छ । हामीले अहिले चर्चा गरिरहेको पुतलीसडकस्थित टुकुचा खोलामाथि बन्दै गरेको सार्वजनिक शौचालयको हो । निर्माणाधिन शौचालयको बारेमा सोधीखोजी गर्न हामी बागबजार स्थित वडा कार्यालय पुगेका थियौ । वडा अध्यक्ष भाइराम खड्गीले नगरप्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा आफूले सार्वजनिक शौचालय निर्माण गरेको बताउनुभयो ।

त्यसो त उपत्यका बन्ने सार्वजनिक शौचालय ब्यवस्थापनको जिम्मा कानुनले उपमेयरलाई दिएको छ । वडा समितिले उपमेयरसँग कुनै परामर्श नै नगरी निर्माण गरिएको स्वयं जनप्रतिनिधिको स्वीकारोक्ति छ ।

खोलामाथि शौचालय बनेको थाहा पाएपछि उपमेयर हरिप्रभा खड्गीले निर्माण रोक्न आदेश दिएपनि त्यसको पालना भएको छैन । उपमेयर खड्गीले टुकुचाको माथी ढल बनाउनु भनेको मापदण्डविपरीत रहेको बताउनुहुन्छ ।

केही दिनअघि जनप्रतिनिधिले आफूलाई कानुनभन्दा माथि ठान्दा सुनसरीको बर्जुमा भएको आगजनीमा करोडौंको क्षति मात्र भएन, मानव संहार हुनबाट जोगियो । त्यसैले जनप्रतिनिधि विकासप्रेमी संगसंगै कानुनी राजको साधक हुन जरुरी छ । काठमाडौं सभ्यताको जननी मानिने नदीनालाको संरक्षण गर्नु सट्टा ढलमा परिणत गर्ने दुस्साहस सर्वथा अनुचित हो ।