
काठमाडौं । त्रिभुवन विश्व विद्यालयले सबै क्याम्पसलाई भोलिदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
विश्व विद्यालयले एक सूचना जारी गर्दै कोरोना संक्रमण बढेकाले हरेक क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । यसका लागि आज अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्ने सूचनामा उल्लेख छ ।
अनलाइन कक्षा व्यवस्थित गर्न हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने विश्व विद्यालयले जनाएको छ ।
साथै, भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिपलगायत क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने सूचनामा उल्लेख छ ।
अनलाइन कक्षा व्यवस्थित भए नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनुगमन समिति पनि बन्ने भएको छ ।
त्यस्तै, अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालयमा पेस गर्नुपर्ने विश्व विद्यालयलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्