
कैलाली । करिब दुई सातादेखि पश्चिम तराईका जिल्लामा घाम लागेको छैन । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो निकै बढेको छ ।
धनगढीमा पनि घाम नदेखिएका कारण चिसो अत्याधिक बढेको छ । बाक्लो हुस्सुसँगै बढेको शीतलहरले आम नागरिकको दैनिकी कष्टकर बन्दै आएको छ । त्यस्तै मानिसहरुलाई घर बाहिर निस्किन समेत कठिन भएको छ ।
चिसोका कारण दीर्घरोगी,वृद्ध–वृद्धा र बालबालिका बढी मात्रमा प्रभावित भएको सेती प्रादेशिक अस्पताल धनगढीका फिजिशियन डा. निराजन दत्त शर्माले बताउनु भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चिसोका बिरामी भरिएका छन् ।
अस्पतालको ईमर्जेन्सी कक्षमै बिरामीको चाप बढेपछि अस्पताललाई उपचारमै समस्या परेको छ । अझ कोरोना भाइरसको बढ्दो संक्रमणका कारण पनि इमर्जेन्सीमा आउने बिरामी बढेको सेती प्रादेशिक अस्पताल धनगढीका इमर्जेसी इन्चार्ज डा.समिर खानको भनाइ छ ।
चिसोसंगै कोरोना संक्रमण बढिरहेका कारण स्वास्थ्यमा ध्यान दिन चिकित्सहरुले सुझाव दिएका छन् ।
घरबाट बाहिर निस्किने बेला बाक्लो कपडा लगाउने, खानेकुरामा निकै ख्याल गर्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्