१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नागरिकको स्वास्थ्यमा थप संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह


156
Shares

काठमाडौं, माघ १० । राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारसँग आग्रह गरेको छ ।

कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा आयोगले सोमबार महामारी नियन्त्रणका लागि सरकारबाट भइरहका प्रयास र तयारीबारे सरकारी अधिकारीहरुसँग जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो ।

छलफलका क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकहरुका लागि खोपको सहज उपलब्धता हुनुपर्ने, बिनाखोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा पर्ने असर, सिटामोल लगायतका औषधिको अभाव, सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापन लगायतका विषयमा थप ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सो अवसरमा कोभिड–१९ को तेस्रो लहर नियन्त्रणका लागि सरकारको योजना, अस्पतालहरूको क्षमता, बालबालिकालाई दिइने खोपमा पहुँच, औषधिको कृत्रिम अभाव हुन नदिन गरिनुपर्ने अनुगमन तथा कानूनी कारबाहीमा ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो ।

यस्तै, अनुगमन व्यवस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका अग्रपंक्तिमा खटिने कर्मचारीहरुको मनोबल उच्च राख्न उनीहरुले पाउनुपर्ने सेवा सुविधाको उपलब्धता विषयमा छलफल भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभयो । आयोगले गरेको छलफलमा आयोगका पदाधिकारी, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलसहित गृह र स्वास्थ्य मन्त्रालयलका अधिकारीहरु सहभागी थिए ।