निजगढ नगरपालिकाका विद्यालयमा जंकफुड निषेध, उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था

news

-प्रकाश लम्साल/ ईमेज 

बारा । निजगढ नगरपालिकाका माध्यमिक र आधारभूत स्कुलमा जंकफुड निषेध गरिएपछि घरबाटै खाजा ल्याउने क्रम सुरु भएको छ ।

जंकफुडले विद्यार्थीको स्वास्थ्यमा घातक असर गरिरहेको ठहर गर्दै नगरपालिकाले गरेको यो निर्णयको सबैले स्वागत र प्रशंसासमेत गरेका छन् ।

विद्यार्थीको स्वास्थ्यसँग चासो राख्दै निजगढ नगरपालिकाले सो क्षेत्रका २७ वटै सामुदायिक विद्यालयमा जंकफुड निषेध गरेको हो ।

त्यस्तै तीन विद्यालयमा स्वास्थ्यकर्मीसमेत नियुक्त गरिएको छ । चाउचाउ, बिस्कुट, कुरकुरेजस्ता जंकफुड खान रोक लगाइएसँगै कक्षा ५ माथिका विद्यार्थीले घरबाटै रोटी, भुटेको मकै, सातु, भुटेको भातजस्ता खाजा बोकेर आउन थालेका छन् ।

१ कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई भने विद्यालयमै खाजा उपलब्ध गराइएको छ । नगरको आन्तरीक कोषबाट तीन विद्यालयमा १/१ जना अहेव समेत राखिएको छ ।

उनीहरुले स्वास्थयसम्बन्धी प्रत्यक्ष रुपमा शिक्षा दिने र विद्यालयमै प्राथमिक उपचार समेत गराउने गरेका छन् ।

खानाबाट स्वास्थ्यमा पर्ने असरको जानकारी तथा सरसफाइमा ध्यान दिन लगाउने गरिएको नेत्रोदय माध्यमिक विद्यालयमा कार्यरत अनमी राधिका खड्काको भनाइ छ ।

नगरपालिकाको यो अभियान कार्यान्वयन गराउन यहाँका ९ निजी स्कुलमध्ये कतिपयले विद्यालय क्यान्टिनमा जंकफुडको बिक्री गर्न रोक लगाएका छन् ।

नगरप्रमुख सुरेश खनालका अनुसार यससम्बन्धी कार्यविधि बन्दै रहेको र अन्य विद्यालयमा पनि अनमीको व्यवस्था गरिने छ ।

यसले स्कुल वरपरको वातावरण सफा हुनुका साथै बालबालिकाको सरसफाइ र पढाइमासमेत सुधार आएको छ ।  

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...