३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


निकुञ्ज कार्यालयसँग समन्वय नगरी पूर्वाधार निर्माण गर्दा वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै


455
Shares

चितवन । सडक डिभिजन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जको समन्वय बिना सडक निर्माण हुँदा वन्यजन्तुको सुरक्षामा चुनौती देखिएको छ । निकुञ्जको मध्यवर्ती र वन डिभिजनको क्षेत्रमा ६ लेन सडक बनिरहेको छ । तर, यसरी संरचना बनाउँदा सम्वन्धित कार्यालयसँग सडक डिभिजनले कुनै समन्वय र स्वीकृति नलिएको खुलेको छ । जसका कारण संरक्षणमा चुनौति थपिएको हो ।

गत आइतबार विश्वमै दुर्लभ एक सिङ्गे गैंडा निर्माणाधीन नालामा खसेर अड्किँदा मृत्यु भयो । भरतपुर महानगरपालिकामा निर्माण भएको पुल्चोक गोन्द्राङ सडकको उक्त नाला निर्माण पछिको फितलो व्यवस्थापनले गैडा मर्न पुग्यो । त्यसो त यो सडक विस्तार गर्दा वातावरण सरक्षण ऐन २०७६, नियमावली २०७७, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ पुरै उल्लघन गरेर सडक डिभिजन कार्यालय भरतपुरले काम गरेको खुलेको छ ।

त्यतिमात्रै होइन निकुञ्जको क्षेत्र र डिभिजन वन समेत जोडिने भएकाले दुवै कार्यालयसँग कुनै लिखित अनुमति नलिएको पाइएको छ । संरचना निर्माण वा विस्तार गर्दा वातावरणीय प्रभाव मूल्यांकन इआइए वा आइइ गर्नुपर्ने कानुनी व्यवस्था छ । तर ती कार्यसमेत भएको छैन । सडक विस्तार भने तीव्र पारिएको छ ।

निकुञ्जले अनुमतिनै नदिँदा पनि सडक बिस्तारको काम धमाधम जारी छ । वन्यजन्तु वारपार गर्ने महत्वपूर्ण स्थान भएपनि सामान्य नाला वाहेक वन्यजन्तुको लागि कुनै वैकल्पिक मार्ग बनाइएको छैन । जसका कारण सडक पार गर्दैमा धेरै वन्यजन्तुको ज्यान गएको छ । सडक डिभिजनले वन डिभिजनसँग पनि अनुमति लिनुपर्ने बताउनुहुन्छ, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल । तर सडकले कुनै स्वीकृत नलिएको उहाँको भनाइ छ ।

यता सडक डिभिजन कार्यालयले भने अहिलेको विस्तार कार्यका लागि कसैसँग अनुमति लिनु नपर्ने बताउँछ । सूचना अधिकारी शिव खनालले पहिलेनै बनेको संरचनालाई विस्तारमात्रै गरिएको र शहरी सकडसम्म भएकाले अनुमति लिन जरुरी नभएको बताउनुभयो ।

सडकको तर्कलाई मान्न तयार छैन चितवन राष्ट्रिय निकुञ्ज । हुन त त्यतिका संरचना निर्माण हुँदा पनि अनुगमन गर्न नसक्नु निकुञ्जको कमजोरी र मानवलाई मात्रै केन्द्रीत गरि विकास भइरहँदा वन्यजन्तुहरु अकालमै मरिरहेका छन् ।

पूर्वपश्चिम राजमार्गको यो क्षेत्रमा मात्रै दुर्घटनाका कारण २० भन्दा बढी जनावरको मृत्यु भएको छ । अब पनि वन्यजन्तुमैत्री विकासमा ध्यान नदिने हो भने संरक्षणमा गरेको लगानी खेर त जाने छैन पारिस्थिकीय प्रणालीमा समेत गम्भिर असरहरु देखा पर्दै जानेछन् ।