
पाल्पा । तानसेन नगरपालिकाले आफैं जमानी बसेर युवाहरुलाई ऋण प्रदान गरी उद्यमी बनाउने अभियान सुरू गरेको छ । नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा लागेका युवाहरुलाई बैकमा जमानी बसेर विना धितो सहुलियत दरमा ऋण प्रदान गरेको हो ।
तानसेन नगरपालिकाले नगरका नव उद्यमी युवाहरुलाई विना धितो सहुलियत दरमा ऋण प्रवाह गरेको छ । नगरपालिकाले नगरका १४ वटै वडाहरुका युवाहरुलाई उद्यमी बनाउन बैंक वित्तीय संस्था, हेफर ईन्टरनेशनल, संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम र ग्रामीण आर्थिक विकास संघ रेडाको साझेदारीमा युवालाई बिना धितो ऋण सहयोग गरेको हो ।
नगरपालिकाको जमानीमा करिब साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको छ । युवाको जोश, जाँगर र सीपलाई उद्योगमा रुपान्तरण गरी, आफ्नै परिवार साथीभाइसँग बसेर व्यवसायी बन्दै रोजगारी सिर्जना गर्ने र अरुलाई पनि रोजगारी दिने उद्देश्यले नगरपालिकाले यो अभियान सुरु गरेको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।
विना धितो ऋण पाएका महिला उद्यमीका लागि ४ प्रतिशत र पुरुष उद्यमीका लागि ५ प्रतिशत व्याजदरमा कायम गरिएको छ । तानसेन नगरभित्रका ४० वर्ष सम्मका युवा, वैदेशिक रोजगारीबाट फर्किएका, स्वदेशमा स–साना व्यवसाय गरेपनि पुँजीको अभावमा उत्पादन वृद्धि गर्न नसकेका युवा, महिला, जनजाति, दलित, उत्पीडित जातिहरुलाई सीप प्रविधि हस्तान्तरण, आधुनिक कृषि औजार सहयोग गर्दै उत्पादनलाई बजारसम्म जोड्ने काम गर्दै आएको ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताउनुभयो ।
पूँजी अभावका कारण व्यवसाय विस्तार गर्न नपाएकी तानसेन नगरपालिका–१३ बौघागुम्वाकी टेककुमारी रास्कोटीले विना धितो ४ प्रतिशत व्याजमा नगरपालिकाको जमानीमा पाएको ६ लाख रुपैयाँ ऋणले व्यवसाय बढाएकी छन् । नगरपालिकाबाट पाएको ऋणले बंगुर र कुखुरा पालनमा खर्च गर्ने तयारीमा लागेको रास्कोटीको भनाइ छ ।
तानसेनका युवालाई स्वाभिमानी नेपाली बनाउने अभियानामा अहिले नगरभित्र मात्र विदेशबाट फर्किएका ३ सय र स्वदेशका ४ सय गरी ७ सय युवा उद्यमीहरु जोडिएका छन् ।
प्रतिक्रिया दिनुहोस्