
काठमाडौं, माघ १३ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन् ।
बिहीबार बिहान आयोजना निर्माणस्थल पञ्चनस्थित सुरुङभित्र पाइप लैजाने क्रममा एक्स्काभेटर नै भाँचिएपछि दुर्घटना भएको हो ।
सुरुङभित्र पानी बगाउने पाइप एक्स्काभेटरको बकेटमा लिएर जाँदा एक्स्काभेटर नै भाँचिएपछि बकेटमा रहेका मजदुरसमेत सुरुङभित्र खसेका थिए । बेपत्ता हुनेमा बाराको कोल्हवी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेका छन् ।
उनको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते पर्साको पटेर्वा गाउँपालिका ४ का २० वर्षीय आंगत राय थारुलाई भने उपचारका लागि ओखलढुंगास्थित मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
एक महिनाअघि सोही आयोजनामा पानी परीक्षणका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्