
झापा । झापामा ट्राफिक प्रहरीले गाउँ केन्द्रित ट्राफिक अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रमा सवारी दुर्घटना ह्वातै बढ्न थालेपछि प्रहरीले शहर केन्द्रित अभियानलाई गाउँ केन्द्रित बनाएको हो ।
शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा भएका सवारी दुर्घटनामा धेरै नागरिकको ज्यान जान थालेपछि ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई गाउँ केन्द्रीत बनाएको छ । चालू आर्थिक वर्ष सुरु भए यता मात्र झापामा भएका ३ सय ६१ वटा सवारी दुर्घटनामा परी ६७ जनाले ज्यान गुमाएका छन् भने दुर्घटनामा ४ सय ९७ जना घाइते भएका छन् ।
धेरैजसो ग्रामीण क्षेत्रका सडकमा भएका दुर्घटनामा ज्यान गुमाउने बढी छन् । ग्रामीण क्षेत्रका सडकमा भएका दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेसँगै ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई गाउँ केन्द्रीत गरेको ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निषेश चापागाईले बताउनुभयो ।
यो महिना मात्रै यहाँ भएका सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएसँगै गत माघ २ गतेबाट गाउँ केन्द्रीत सवारी चेकजाँचलाई हर पहर गाउँ र नगर, गाउँगाउँमा ट्राफिक प्रहरी नामक अभियान सञ्चालन गर्दै चेक जाँचलाई कडाई गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतमा रहेका १८ वटा युनिटले ग्रामीण क्षेत्रका सडकमा छड्के चेकजाँच गर्ने गरेको र सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई स्पर्टमै कारवाही गर्दै प्रशिक्षण प्रदान गर्न सुरु गरिएको ट्राफीक प्रहरी सहायक निरीक्षक चन्द्र कुमार बस्नेतले बताउनुभयो ।
चालू आर्थिक वर्षको ६ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने २३ हजार दुई सय सवारीलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले एक करोड ५६ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
गत बर्ष सवारी नियम उल्लंघन गर्ने सवारी र सवारी चालकलाई कार्वाही गर्दा ट्राफिक प्रहरीले तीन करोड ७९ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । अकालमा नागरिकको ज्यान नजाओस भन्ने उद्देश्यले सुरु गरेको अभियानबाट ग्रामीण क्षेत्रका नागरिकसमेत लाभान्वित भएका छन् ।
मुख्य राजमार्गसँगै सवारी चेकजाँचलाई गाउँ केन्द्रीत गरेको ट्राफिक प्रहरीले यो वर्ष दुर्घटना न्यूनीकरणका विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्