
काठमाडौं । फिफा विश्वकप कतारको दक्षिण अमेरिकी छनोटमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ ।
शुक्रबार भएको खेलमा ब्राजिल इक्वेडरसँग १–१ को बराबरीमा रोकिएको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल अंक बाँड्न बाध्य भयो ।
खेलको छैटौं मिनेटमा क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, ७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो ।
खेलको १५ औं मिनेटमा इक्वेडरका एलेक्सजेण्डर डोमिनगुएजले र ब्राजिलका २० औं मिनेटमा इमर्सन रोयलले रातो कार्ड पाएपछि दुवै टिम १०१० खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै ब्राजिलले १४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
छनोट अन्तर्गत नै उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गरेको छ । उरुग्वेको जितमा लुइस सुआरेजले ५० औं मिनेटमा निर्णायक गोल गरे ।
उरुग्वे १९ अंक जोडेर चौंथो स्थानमा र पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यसगरी अर्जेन्टिनाले घरेलु टोली चिलीलाई पराजित गरेको छ । अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गरे । चिलीका विन वेरेन्टेनले एक गोल फर्काए ।
१४ खेलमा ३२ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ । चिली १६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्