
बागलुङ, माघ १४ । कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि बागलुङ नगरपालिकाले सबै सेवा शुक्रबारबाट बन्द गरेको छ ।
नगरपालिकाको प्रशासन तर्फका १४ र स्वास्थ्य शाखाका ७ जना गरि २१ जना कर्मचारी संक्रमित भएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएकाले नगरपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा प्रभावित भएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । यसैबीच बागलुङमा आज ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङ नगरपालिकाका ३६ जना, बरेङ गाउँपालिकाका १६ जना, ताराखोलामा ४ जना, जैमिनीमा ४ जना, तमानखोला गाउँपालिकामा २३ जना, गलकोट र काठेखोलामा १÷१ जना र जिल्ला बाहिरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा अहिले ५८१ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी संक्रमित बागलुङ नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम ढोरपाटन नगरपालिकामा रहेका छन् । निसीखोला गाउँपालिकामा भने संक्रमित छैनन् । जिल्लाका २१ वडा उच्च जोखिम, ३६ वडा मध्यम र २८ वडा न्यून जोखिममा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्