
काठमाडौं, माघ १४ । नेपाल रेल्वे कम्पनीका कर्मचारीले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् ।
रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै आज रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
जनकपुर कार्यालयले केही दिन अगाडि ज्वालादारीमा काम गर्ने १५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो । रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेको अहिले आएर विना कारण आफूहरुलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो ।
कम्पनीका महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियूक्त गरी पूरानो कर्मचारीलाई अवमूल्यन गरेर पुनः नयाँ तालिम दिन सञ्चालन गरेपछि पूराना कर्मचारी आन्दोलित भएका छन ।
नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाएर जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासी सूचना निकालेर हटाएसँगै कर्मचारीहरु आफूलाई पुनः समायोजन गर्न माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन ।
जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको छ । गत असोज ३ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल नेपालमा आए अहिलेसम्म ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्