
चितवन । पशुपालनलाई व्यवसायिक बनाउने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकाले गरिबी निवारणका लागि कृषकहरुलाई उन्नत गाई अनुदानमा दिएको छ । नगरकै गौरवको योजनामा समावेश गरेर ५० प्रतिशत लागत साझेदारीमा कृषकलाई उन्नत गाई बितरण गरेपछि उनीहरु खुसी भएका छन् ।
नगरपालिकाले कृषकलाई उन्नत गाई बितरण गरेर पशुपालनलाई व्यवसायिकीकरण गर्दे लैजाने नीति लिएको छ । नगरपालिकाको एक करोड रुपैयाँ र कृषक आफैंबाट १ करोड रुपैयाँ व्यहोर्ने गरी नगरपालिकाले उन्नत दुधालु गाई बितरण अभियान थालेको हो । नगरपालिकाले यो बर्ष २ सय किसानलाई उन्नत गाई उपलब्ध गराउने गरी योजना अगाडी बढाई सकेको छ । नगरपालिकाको यो अभियानले यहाँका गाईपालक कृषकहरु गाईपालनलाई व्यवसायिकीकरण गर्न थप हौसिएका छन् । दैनिक १७ लिटरसम्म दूध दिने दुधालु गाई अनुदानमा पाएपछि पशुपालक कृषकहरु पनि दंग छन् ।
अभियानको पहिलो चरणमा १६ जना किसानलाई उन्नत जातको गाई नगरपालिकाले दिएको छ । दैनिक दुई पटक गरि झण्डै १० लिटर दूध दिने गाई खरिदको लागि कृषकले ८० हजार रुपैयाँमा किन्न सक्छन् । कृषकले गाई किनेसँगै अनुगमनपछि नगरपालिकाले ५० प्रतिशत अनुदान दिनेछ । गाई पालनबाटै परिवार धानेकी रत्ननगर १३ कि किसान पदमकुमारी न्योपानेले नगरपालिकाले लिएको कृषकमैत्री नीतिका कारण ऋण गरेर गाई किन्नुपर्ने वाध्यता हटेको बताउनुहुन्छ ।
यता, नगर प्रमुख नारायण वनले पनि उन्नत गाई बितरणले पशुपालक कृषकहरु उत्साहित भएको बताउनुभयो । कृषकले उत्पादन गरेको दूधको बजारीकरणका लागि नगरपालिकाले सहयोगि भूमिका खेल्ने उहाँको भनाइ छ । विदेशीन वाध्य नगरवासीलाई आम्दानी तर्फ प्रेरित गर्न र दुधमा नभई दुध उत्पादन हुने स्रोत मै लगानी गरेको उहाँको भनाई छ ।
गत वर्ष साईलेज बनाउने प्रविधि र ट्याक्टर समेत सहयोग गरेको नगरपालिकाले यसरी वितरण गरिएका गाईको दुई वर्षसम्म निरन्तर अनुगमन गर्ने जनाएको छ । पशुमा देखिन सक्ने रोगहरुको नगरपालिकाले चिकित्सकीय सेवा समेत निःशुल्क प्रदान गर्नेछ । पशुपालनबाट कृषकको आर्थिक जीवनस्तर परिवर्तन गर्ने यस नगरपालिकाको नीतिको अन्य नगरपालिकाले पनि अनुशरण गर्ने की ?
प्रतिक्रिया दिनुहोस्