२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

आइतबारका लागि संसद बैठक आव्हान


546
Shares

काठमाडौं, माघ १५ । स्थानीय तह निर्वाचनको मिति तय गर्ने सम्बन्धमा देखिएको राजनीतिक अन्योल र कोरोना महामारीबीच आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

पुस सात गते यता बस्न नसकेको बैठक आईतबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका बोलाउनुभएको छ ।

सभामुख सापकोटाले आईतबार बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा परामर्श समितिको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले संसद बैठकमा पेश हुने एजेण्डा तय गर्ने अभ्यास रहिआएको छ ।

तर, सभामुख सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै प्रमुख विपक्षी दल नेकपा एमालेले गत भदौदेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । एमालेले उठाएका माग सम्बोधन हुन नसकेको र उसले आफ्नो अडान नछाडेका कारण आइतबार पनि संसद अवरोध हट्ने सम्भावना भने छैन् ।

यता, स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने तयारीमा रहेको सत्तागठबन्धन संसद अवरोध हटाएर ऐन संशोधनमा सहयोग गर्न विपक्षी दल एमालेलाई आग्रह गरिरहेको छ । चौतर्फी दवावका कारण सरकार र सत्तारुढ गठबन्धनलाई स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने दवाव छ ।

यसअघि पुस १८ का लागि तय गरिएको प्रतिनिधिसभा बैठक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण स्थगित भएको थियो । त्यस्तै पुस २२ गते बोलाइएको संसद बैठक विपक्षी दल एमालेको बैठकका कारण स्थगित भएको थियो । पुस २८ र माघ ३ का लागि बोलाइएको प्रतिनिधिसभा बैठक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले बस्न नसक्ने भन्दै सूचनामार्फत स्थगित गरिएको थियो ।