
काठमाडौं, माघ १५ । वर्षेनी खर्बाैको व्यापार घाटा खेपिरहेको मुलुकले यस वर्षको ६ महिनामै ८ खर्ब ८० अर्ब बराबरको व्यापार घाटा पुगेको छ । यस अवधीमा ६१ अर्ब ७७ करोडको सवारी साधन मात्रै आयात भएको छ भने २ खर्ब २५ अर्बको त तरकारी मात्रै नेपालीले उपभोग गरेका छन् । आयात बढिरहँदा एकातिर विदेशी मुद्रा संकुचनमा प्रभाव परिरहेको छ भने अर्काेतिर व्यापार घाटाको आकार वर्षेनी बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर मसान्तसम्ममा नेपालको कुल विदेशी विनिमय संञ्चिती असार मसान्त यता १४.७ प्रतिशतले घटेर १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको छ । यो साढे ७ महिनाको वस्तु तथा सेवा आयात मात्रै धान्ने संञ्चिती हो । नेपाली अर्थतन्त्र आयात आधारित अर्थतन्त्र होे । भन्सार विभागकाअनुसार यो वर्षको ६ महिनामा गत वर्षको तुलनामा आयात ५१ प्रतिशतले बढ्दा निर्यात ९५ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा गत वर्षको तुलनामा ४६.६४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा पुस मसान्तसम्ममा विभिन्न देशबाट ७ अर्ब २१ करोडको त ल्यापटप मात्रै आयात भएको छ । चीनबाट मात्रै ६ अर्ब ८१ करोडको ११ लाख ६६ हजार थान ल्यापटप नेपाल भित्रिएको हो । विभिन्न देशबाट कम्प्युटरको सिपियू ३० करोड बढीको आयात भएको छ । पुस मसान्तसम्ममा करिब ४५ करोडको ट्याबलेट मात्रै आयात भएको छ । भर्चुअल काम सुरु हुन थालेपछि यी वस्तुहरुको आयात बढ्न थालेको हो । यी सामग्री नेपालमा चीन, डेनमार्क, मलेसिया, युनाईटेड अरब ईमिरेट्स, कुबेत, ईजरायल लगायतका देशहरुबाट नेपाल भित्रिने गरेको भन्सार विभागको तथ्यांक छ ।
यस्तै अन्य अटोमेटिक डाटा संकलन गर्ने मेसिन मात्रै २८ करोड ५६ लाख बराबरको आयात भएको छ । बच्चाका लागि आवश्यक पर्ने डाईपर मात्रै १ अर्ब ४ करोडको आयात हुँदा सेनीटरी प्याड मात्रै १६ करोड ९३ लाख बराबरको आयात भएको छ । सेनीटरी प्याड चीन, ताईवान, कोरिया लगायतका मुलुकबाट आयात हुने गर्छ । यस अवधीमा १६ करोड ६२ लाखको त तास मात्रै आयात भएको छ । तास हंगेरी, चीन, भारत, अमेरिकाबाट आयात हुने गरेको छ । विशेषतः चीनबाट थर्मल गन उच्च मात्रामा आयात भएको छ । यो वर्षको ६ महिनामा ३ करोड ७२ लाखको थर्मल गन आयात भएको हो । पुस मसान्तसम्ममा २ अर्ब हाराहारीमा मोटरसाईकल तथा स्कुटर आयात भएको छ । मोटरसाईकल तथा स्कुटरका लागि आवाश्यक पर्ने ईन्जिन मात्रै १२ अर्ब बढीको आयात भएको छ ।
यस्तै ३ अर्ब २४ करोडको सवारी साधन आयात हुँदा ५ अर्ब ८१ करोडको ट्याक्टर आयात भएको छ । यो अवधीमा हङकङ, मलेसिया, बेलायत, चीन लगायतका देशबाट करिब ७० लाख बराबरको ईलेक्ट्रिक चुरोट आयात भएको छ । २८ करोड ६३ लाखको स्मार्ट वाच आयात हुँदा ६ करोड १६ लाख बराबरको मोबाईल फोन चार्जर आयात भएको छ । १ करोड ७० लाख ७५ हजारको सियो आयात भएको छ । पुस मसान्तसम्ममा ३६ करोड ६२ लाखको त कुुरकुरे मात्रै आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस्