
काठमाडौं, माघ १६ । प्रत्येक वर्ष माघ १६ गते विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइन्छ । तर दलपिच्छेका छनोटमा सहिद घोषणा गर्ने परिपाटीका कारण सहिदको मर्म र त्यसको गरिमा मर्दै गएको छ । माघ १० देखि १६ गतेसम्म सहिदका नाममा गरिने माल्यार्पणका कार्यक्रम कर्मकाण्डी बन्दै गएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत शब्दकोषअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय कुनै घटना वा दुर्घटनामा परेकालाई पनि राज्यकोषबाट पैसासहित सहिद घोषणा गरिँदा देशका लागि जीवन आहुति दिनेको अपमान भएको भन्दै विरोध हुने गरेपनि अझसम्म सहिदको स्पष्ट मापदण्ड छैन । घोषणा गरिएका सहिदका विषयमा पनि विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । काठमाडौं महानगरपालिका भने १९९७ का प्रमुख चार सहिदको परिवारकै इच्छा बम्मोजिम प्रभावकारी योजना ल्याउन लागिएको बताउछन् ।
सहिद घोषणाका लागि राजनीतिक दलबीच प्रतिस्पर्धा चल्ने गरेको देखिन्छ । सहिदको परिभाषा स्पष्ट गर्न र सूची तयार पार्न दुई आयोग गठन भएपनि त्यसले विवाद निदान गर्न सकेको छैन । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज माघ १०, गते काठमाडौँको टेकुस्थित पचली, माघ १३ गते धर्मभक्त माथेमालाई सिफल र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । देश र जनताका लागि माफी नमागी सहादत प्राप्त गर्ने चार सहिदलाई राजनीतिक दलले पूर्वाग्रह राखेपनि नागरिकले भने श्रद्धा र स्नेह दिएका छन् ।
सरकारले चार वर्षअघि विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई सहिद घोषणा छ । त्यसो त २०६७ असार ९ गते शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई सहिद घोषणा गरेको थियो । यद्यपि सहिदको स्पष्ट तथ्यांक छैन ।
गणतन्त्र अघिसम्म सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यस दिन राष्ट्रिय विदा दिने चलन थियो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा नाम मात्रको कार्यक्रम हुने गरेको छ । सहिदको सम्मान कल्याणकारी राज्यको अवधारणाबाट मात्र पूरा हुन्छ । सहिदको सपनाका नाममा आफ्ना व्यक्तिगत चाहना पूरा गर्ने माध्यम राजनीतिलाई बनाइयो भने मुलुकका लागि अधोगति एकमात्र बाटो हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्