
काठमाडौं, माघ १६ । आगामी जेठभित्र स्थानीय तह निर्वाचन गर्ने सत्तागठबन्धनबीचको सहमतिसँगै मुलुक निर्वाचन उन्मुख भएको छ । राजनीतिक दलहरुले निर्वाचनको तयारी गरिरहँदा अहिलेको पाँच दलीय सत्तागठबन्धनको निरन्तरता बारे बहस तीव्र छ । गठबन्धन नचाहने कार्यकर्ता र निरन्तरता पक्षधर नेतृत्वको रुचिले नेपाली कांग्रेसलाई धर्मसंकट पारेको छ ।
वि.स. २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन असफल भयो । लगत्तै भएको संघ र प्रदेश तहको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भने सफल भयो । मुलुकका दुई ठुला कम्युनिष्टबीच गठबन्धन भएपछि नेपाली कांग्रेसले लज्जास्पद् पराजय भोग्नुप¥यो । प्रतिनिधिसभाका प्रत्यक्ष १६५ मध्ये कांग्रेस २३ सिटमा खुम्चिन पुग्यो ।
तर, २०७४ सालको निर्वाचनमा लज्जास्पद हार भोगेको त्यही कांग्रेस यतिबेला आश्चर्यजनक राजनीतिक घटनाक्रमका कारण सरकारको नेतृत्व गरिरहेको छ । चुनावमा लज्जास्पद हारको दोष खेपेका उनै देउवा प्रधानमन्त्री हुनुहुन्छ । संविधानको रक्षा गर्दै संसदको कार्यकाल पूरा अवधि चलाउने प्रमुख उद्देश्यसहित बनेको भनिएको पाँच दलीय गठबन्धनका नेताहरु आगामी निर्वाचनमा एक भएर जानुपर्ने पक्षमा छन् । तर, कांग्रेसभित्र गठबन्धनको निरन्तरता बारे विवाद छ । नेपाली कांग्रेसभित्र नेता र कार्यकर्ताको ठूलो पङ्ति गठबन्धनको विपक्षमा देखिएका छन् ।
पार्टीले अवलम्बन गरेका नीतिहरु कार्यान्वयन गर्न लागि नै निर्वाचन भएको जिकिर गर्दै कतिपय नेताहरु गठबन्धन गरेर निर्वाचनमा जानु पार्टीले अंगालेका नीति, सिद्धान्त कमजोर बनाउनु भएको तर्क गरिरहेका छन् । एमाले फुटेको अवस्थामा कांग्रेस एकल शक्तिबाटै बहुमत पुग्ने कतिपयको तर्क छ ।
तर, चुनावसम्म गठबन्धनलाई निरन्तरता दिए कार्यकर्ता भड्किने र गठबन्धनबाट बाहिरिए अन्य दल मिलेर फेरि २०७४ सालको निर्वाचनकै परिणाम दोहोरिने भय कांग्रेस नेतृत्वलाई छ । सभापति देउवा निकट नेताहरु कांग्रेस एक्लै निर्वाचनमा जाँदै गर्दा अन्य दलहरु एक ठाउँमा उभिए जटिलता थपिनेतर्फ सतर्क हुनुपर्ने तर्क गरिरहेका छन् । एक्लै चुनावमा गएको कारण भन्दा पनि विचार,नीति तथा कार्यक्रम बारे प्रष्ट पार्न नसके र जनतासंग जोडिन नसके कांग्रेसको लागि अघिल्लो परिणाम दोहोरिनसक्ने कतिपयको तर्क छ ।
एक्लै चुनाव लड्ने वा गठबन्धनसहित चुनावमा जाने भन्ने विषयमा जे तर्कविर्तक आएपनि कांग्रेस गठबन्धनको कारण चेपुवामा परेको छ ।
प्रतिक्रिया दिनुहोस्