२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनामा खेल : प्रतियोगिताहरू नरोक्न खेलाडीको आग्रह, एन्फा सकारात्मक


182
Shares

चितवन । भर्खरै सम्पन्न सेन्ट्रल कलेज चितवन ‘ए’ डिभिजन लिगको उपाधि उचालेको केविए ग्लोबल भरतपुर फुटवल क्लवका प्रशिक्षक हुन ध्रुव भुषाल ।

विस्तारै खेल क्षेत्रका गतिविधिले खेलाडी र क्लवहरूलाई उत्साहित बनाएको बताउँदै अब कुनै पनि खेल गतिविधि नरोक्न आग्रह गर्नुहुन्छ । खेलका गतिविधि रोकिँदा खेलाडीका परिवारको दैनिकीमा समेत असर पर्ने भन्दै स्वास्थ्य मापदण्ड पालना हुनेगरी कार्यक्रमहरू ल्याउन सुझाव दिनुहुन्छ ।

विभिन्न जिल्लामा गोल्डकपको तयारी भइरहेको छ । खेलाडीहरू पनि प्रतियोगितामा भाग लिन उत्साही छन् । खेलबाटै आम्दानी गरेर परिवारलाई सघाएका उनीहरूले खेल गतिविधि रोकिँदा शारिरीक अभ्यासमा समेत नराम्रो असर पर्ने भन्दै चिन्ता व्यक्त गर्छन् ।

सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लव चितवनका क्याप्टेन मनिष आले मगर, सरकारको आदेश मान्नुपर्ने बताउनुहुन्छ । यद्यपि खोप लगाइसकेकाले खेल गतिविधि नरोक्न पनि उहाँ आग्रह गर्नुहुन्छ ।

कोभिडको पहिलो र दोस्रो लहरले नराम्ररी प्रभािवत खेलक्षेत्र तेस्रो लहरले के गर्ला अन्योल कायमै छ । तर, एन्फा नेपालका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विश्व फुटवल समेत चलायमानै रहेको भन्दै नेपालमा हुने गतिविधि पनि रोक्न नहुने बताउनुहुन्छ ।

दर्शकको अनुपस्थित कम गराएर भए पनि खेलका गतिविधि सञ्चालन भइरहे खेलाडीहरूलाई सहज हुने बताइरहँदा सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने छुट भने कसैलाई पनि छैन ।