१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीयले पाएनन् संघीयताको आभास : उपमहानगरमै छैन विद्युत्, सडक र सञ्चार सुविधा


260
Shares

दाङ । सदरमुकाम नजिकै भएर पनि कतिपय ठाउँहरू अहिले पनि बत्ती मुनि अँध्यारो झैँ देखिन्छन् ।

अहिले सम्म यातायात, विद्युत् र सञ्चार सेवाको पहुँच नै पुग्न सकेको छ । तुलसीपुर–४ खुमखानीका नागरिक पनि वर्षौंदेखि दुर्गम हुनुको पीडाबाट प्रताडित छन् ।

सेवा सुविधाका लागि पहुँचवालासँग धेरै पटक हार गुहार गरे । तर, उनीहरूले उपमहानगरवासी भइसक्दा पनि त्यो महशुस गर्न पाएका छैनन् ।

सेवासुविधा हेर्ने हो भने आफूहरू उपमहानगरमा बसेको भन्न पनि लाज हुने स्थानीय फत्तेबहादुर थापा बताउनुहुन्छ । विकास कागजमा मात्र भएको उहाँको भनाइ छ ।

त्यस्तै तुलसीपुर वडा नम्बर–१९ का पहाडी क्षेत्रका नागरिकको समस्या पनि उस्तै छ । दाङदेखि रोल्पा दहबन जोड्न कच्ची सडक बल्लतल्ल बन्नु बाहेक अन्य विकासका काम भएका छैनन् ।

कच्ची सडक बनेको धेरै भयो । फाट्टफूट्ट मौसमी यातायात सञ्चालन भए पनि अझै आफूहरूले सामान ओसारपसारका लागि घोडाकै भर पर्नु पर्ने बाध्यता रहेको स्थानीय दिलबहादुर पुन बताउनुहुन्छ ।

दाङ र रोल्पाका सिमानाका नागरिकको खबरदारी पछि सुगुरखोलामा ढिलै भए पनि पुल बनेको छ । तर, यस क्षेत्रका जनताको भविष्यसँग जोडिएको ग्वारखोलामा भने कहिले पुल बन्ने हो थाहा छैन ।

ग्वारखोलामा पुल र सडकको स्तरोन्नति भइदिए दाङ मात्र नभइ रोल्पाका नागरिक पनि लाभान्वित हुने स्थानीय बताउँछन् । पुल निर्माण नहुँदा अत्यधिक सास्ती भएको उनीहरूको भनाइ छ ।

यता स्थानीय तहका जनप्रतिनिधिहरूले भने संघीयताकै कारण घर–घरमै सिंहदरबार पुगेको दाबी गर्न छाडेका छैनन् ।

तर, दाङ जस्तै दुर्गमका नागरिकको यस्तो अवस्था हेर्ने हो भने अझै पनि दुरदराजका नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन् भन्न सकिन्छ ।