
काठमाडौं । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ वटा विधेयक पारित भएका छन् ।
प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ वटा पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।
दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट तीन विधेयक फिर्ता भएका छन् ।
गठबन्धन सरकार निर्माणपछि लगातार भएको प्रदेश सभाको अवरोधले राजनीतिक सहमति नबन्दा नयाँ विधेयक नआउनाले प्रदेशसभाले बिजनेश पाउन सकेको छैन । तर, अहिले प्रदेशसभा कात्तिक २९ गते नवौं अधिवेशन अन्त्यपछि सञ्चालन भएको छैन ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका पालामा अधिंकाश विधेयक दर्ता भएर पारित तथा प्रमाणिकरण भएका छन् ।
लुम्बिनी प्रदेशसभामा नेकपा (एमाले) का ३७, नेपाली कांग्रेसको १९, नेकपा (माओवादी केन्द्र) को १९, जनता समाजवादी पार्टी नेपालको ४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र एक सदस्य छन् ।
प्रदेशसभाले यही माघ २१ गते स्थापना दिवस मनाउँदैछ ।
प्रतिक्रिया दिनुहोस्