२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


दलहरूबीचको अन्तरद्वन्द्व हटाएर प्रदेशसभा सञ्चालन गर्न प्रदेश प्रमुखको आग्रह


52
Shares

हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूबीचको अन्तरद्वन्द्व हटाएर प्रदेश सभालाई व्यवस्थित ढंगले सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

बागमती प्रदेश सभाको चौथो वार्षिकोत्सवमा भएको कार्यक्रममा शर्माले संघीयताको प्रवलीकरण गर्नुपर्ने भन्दै संसदले रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदको मूल्यमान्यतालाई कुल्चने प्रयास भएको भन्दै त्यसलाई पार गर्दै प्रदेश सभाले चौथो वर्ष पार गरेको बताउनुभयो । उहाँले संसदलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल एमालेका नेता अष्टलक्ष्मी शाक्यले आफूहरूले पर्याप्त काम गर्न नसकेको भन्दै जति काम गरिएको छ त्यसलाई उपलब्धि मान्नुपर्ने बताउनुभयो ।

प्रदेशलाई नमुना बनाउन लाग्दा–लाग्दै केही कानुन निर्माणमा समस्या देखा परेकोले सोचअनुरुप सफलता हासिल गर्न नसकेको उहाँको भनाइ छ ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशलाई नमुना प्रदेशको रूपमा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेश सभाले चार वर्षमा ६६ वटा कानुन निर्माण गरे पनि ६१ वटा कानुन पास गरेको जनाएको छ ।