
काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा जारी छलफलमा स्थानीय तहको निर्वाचनको मितिबारे कुराकानी भइरहेको छ ।
आयोगले यसअघि नै स्थानीय निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर, सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको छैन । गत शनिबार बसेको गठबन्धनको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई छलफलमा बोलाउनुभएको हो ।
गठबन्धनको बैठकले संविधानअनुसार ऐनमा आवश्यक संशोधन गर्न सुझाव दिएपनि सरकारले वर्तमान ऐनमा संशोधन नगरी जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेको छ ।
त्यहीअनुसार प्रधानमन्त्री देउवाले आयोगलाई छलफलमा बोलाउनुभएको हो । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम यसअघि आयोगले एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख २२ गते निर्वाचन गर्न सकिने सुझाव दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्