२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एम्नेस्टी इन्टरनेशनलले भन्यो– ‘प्यालेस्टाइनविरुद्ध इजरायली नीति रंगभेदी’


52
Shares

amnesty international healthworker torture job loos USA Russia

एजेन्सी । एम्नेस्टी इन्टरनेशनलले प्यालेस्टाइन विरुद्ध इजरायलले लिएको नीति रंगभेदको अपराध भएको आरोप लगाएको छ ।

मंगलबार एक अध्ययन प्रतिवेदन जारी गर्दै एम्नेस्टीले उनीहरूलाई निम्न जातीय समूहको रूपमा व्यवहार गरेकोमा इजरायल जवाफदेही हुनुपर्ने बताएको छ ।

२५ पृष्ठ लामो प्रतिवेदनमा इजरायली अधिकारीले प्यालेस्टिनी विरुद्ध दमन र प्रभुत्वको प्रणाली कसरी लागू गर्दछ भन्ने विवरण समावेश गरिएको छ ।

प्यालेस्टिनी भूमि र सम्पत्तिको ब्यापक कब्जा, गैरकानूनी हत्या, जबरजस्ती स्थानान्तरण, राष्ट्रियता र नागरिकता अस्वीकारसहित प्यालेस्टानी नागरिकमाथि दुव्यवहारको पराकाष्ठा रहेको प्रतिवेदनमा उल्लेख छ ।

मानवताविरुद्धको अपराध रंगभेदलाई प्रसय दिएर इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लघंन गरेको एम्नेस्टीको ठहर छ ।

एम्नेस्टीका महासचिव एग्नेस कालामार्डले इजरायलको उक्त कदमविरुद्ध आवाज उठाउन अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

लाखौं मानिसलाई संस्थागत र लामो समयसम्म जातीयताका आधारमा निर्माण गरिएको प्रणालीको औचित्य नभएको प्रतिवेदनमा उल्लेख छ ।

एम्नेस्टीले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई इजरायलमा व्यापक हतियार प्रतिबन्ध लगाउनको लागि पनि आह्वान गरेको छ ।

साथै रंगभेदको अपराधमा संलग्न इजरायली अधिकारीविरुद्ध सम्पत्ति रोक्का जस्ता लक्षित प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएको छ । यसैबीच, इजरायलले प्रतिवेदनमा लगाइएका सबै आरोप पूर्ण रूपमा अस्वीकार गर्ने बताएको छ ।

एम्नेस्टीले जारी गरेको प्रतिवेदनलाई झुट, विसंगति, र निराधार दाबी गरेको इजरायलले आरोप घृणा फैलाउने खालको भएको टिप्पणी गरेको छ ।