
काठमाडौं । २०६१ माघ १९ आजकै दिन तात्कालिन राजा ज्ञानेन्द्र शाहले असक्षम घोषणा गरेका शेरबहादुर देउवा मुलुकको पाँचौ पटक प्रधानमन्त्री हुनुहुन्छ ।
अर्कातिर देउवालाई असक्षम घोषणा गर्ने राजा ज्ञानेन्द्र जनताको हैसियतमा जीवन विताइरहनुभएको छ । तर, तिनै राजामहाराजाको उपभोगीय सामान संरक्षण गरी इतिहास सुरक्षित गर्ने अभिभारा बोकेका गणतन्त्रका सारथीहरूमा उनीहरूकै गाडी खोसाखोस गरेर चढ्ने लोभ जागेको छ ।
पूर्व युवराज दीपेन्द्रले दरबार हत्याकाण्ड हुनु अघिल्लो दिनसम्म चलाएको टोयोटा कम्पनीको बिलासी गाडीमा माओवादी मन्त्री गोपाल किराँतीको आँखा पर्यो । १३ वर्षअघि जिल्ला जाने क्रममा सोलुखुम्बुमा दुर्घटना भएपछि सिंहदरबारमा थन्क्याइएको यो गाडी पछि संग्रहालयमा राख्ने प्रयोजनका लागि यहाँ ल्याइएको हो ।

दरबारभित्रका जग्गादेखि गाडीमा आँखा लगाएको सरकारले राजा वीरेन्द्रको निजी गाडी राष्ट्रपतिका लागि प्रयोगमा ल्याएको छ । परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेको केही दिनमै तात्कालिन परराष्ट्रमन्त्री सुजाता कोइरालाको शोख वीरेन्द्रको गाडीमा चढ्न देखियो ।

बिग्रेपछि मर्मत नगरी मन्त्रालयमा थन्काइएको गाडी संग्रहालयको पहलमा फिर्ता ल्याइयो । पूर्वराजा पारस शाहको निजी गाडी पनि दरबारभित्र नै थन्किएको छ । नासोका रुपमा रहेका बाहन केही अवलोकनका लागि छोडिए पनि धेरैखुल्ला आकासमा घामपानी खाएर जीर्ण अवस्थामा छन् ।

दशकौंदेखि यस्ता गाडी अलपत्र अवस्थामा रहँदा कसको चित्त काटिदैन र ? यी अधिकांश गाडी सरकारको मातहतमा गए भने ४ वटा नेपाली सेनाले लग्यो । बाँकी केही गाडी प्रदर्शनमा राखिए पनि विदेशी पाहुनाका लागि प्रयोगमा ल्याइने गरिएका गाडी भने अलपत्र अनि लथालिङ्ग अवस्थामा छन् ।
राजा महेन्द्रको शासनकालमा अधिकांश जर्मनीबाट खरिद गरी ल्याइएका गाडीहरूको पार्टपुर्जा जीर्ण भएकै कारण मोडल पहिचान गर्न समेत कठिन हुने गरेको छ । प्रयोग गरेर शीतल निवास र परराष्ट्र मन्त्रालयमा थन्काइएका गाडी पनि केही समयअघि संग्रहालयको पहलमा फिर्ता ल्याइएका हुन् ।

नेता र मन्त्रीले चढ्ने गरेका गाडी फिर्ता ल्याइए पनि संरक्षण कसरी गर्ने भन्ने कार्ययोजना संग्रहालयसँग छैन । इन्टरनेशनल लेखिएको गाडी राजा त्रिभुवनले विक्रम संवत १९६७ मा बेलायतबाट झिकाउनु भएको थियो । पिकनिक जान र परिवारका सदस्य घुमाउन यसको प्रयोग हुन्थ्यो ।
प्रिन्सेस लेखिएको अर्को गाडी राजा महेन्द्रले बेलायतबाटै मगाउनुभएको हो । राजा महेन्द्रको कार्यकालमा धेरै प्रयोगमा आएको यो गाडी अहिले अलपत्र अवस्थामा छ । मर्मत सम्भार नहुँदा यसको हालत झन्झन् जीर्ण बन्दै गएको छ ।

राजा त्रिभुवनकी कान्छी पत्नी सरला महारानीले प्रयोग गर्ने गरेको यो गाडी भने नागरिकको प्रदर्शनका लागि तयारी हालतमा राखिएको छ ।

राजतन्त्रको अन्त्यपछि राजामहाराजालाई गाली गर्नुमा आफ्नो भलो देखेका नेताहरूको दृष्टि यहाँ रहेका विलासी गाडीमा पर्नु आफैंमा उदेकलाग्दो छ । यी अमूल्य निधिलाई इतिहासको साक्षी र पछिल्लो पुस्ताका लागि खुल्ला पुस्तकालय बनाउनु सट्टा त्यसको प्रयोगमा बडप्पन देख्नु इतिहासप्रतिको बेइमानी हो ।
प्रतिक्रिया दिनुहोस्