
काठमाडौं । विश्व संम्पदामा सूचिकृत ऐतिहासिक पाटन दरबारमा बाँदरले आतंक मच्याइरहेको छ ।
सयौं संख्यामा रहेको बाँदरले वर्षौंदेखि डेरा जमाउदा पनि दरबार प्रशासन र स्थानीय प्रशासन मुकदर्शक बनेका छन् ।
बथानका बथान बाँदरले दरबारमा लगाइएका झिंगटीका छानो भत्काउने र उप्काउने गरिरहेका छन् ।
तलेजु, देगु तलेजु, मुल चोक, सुन्दरी चोक, केशवनारायण चोक र कोत पाटी लगायतको ठाउँमा समूह–समूहमा बाँदरको झगडा गर्दा झिंगटीको छाना फाल्ने गरेका छन् ।

झिंगटीमुनि रहेका माटोको किरा खान पनि बाँदरले झिंगटीका उप्काउने गरेको स्थानीय बताउँछन् ।
भत्काएका दरबारका छाना मर्मतमा वर्षेनी लाखौं खर्च भइरहेको छ भने दक्ष कामदारको अभावले मर्मतसम्भारमा पनि समस्या भएको छ ।
पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेका अनुसार सय भन्दा बढी बाँदर विगत चार वर्ष देखि दरबारमा बसिरहेका छन् ।

बाँदरले झिंगटी खसाल्दा मानिसहरूसमेत घाइते भएको लाखे बताउनुहुन्छ । बाँदर भगाउन गुलेली देखाएर तर्साउने, बाघको दिसा राख्ने र बाँदर भगाउने मेसिन राखिए पनि प्रभावकारी नभएको उहाँको भनाइ छ ।
बाँदरले दरबार क्षेत्रमा झिंगटीको छाना बिगार्दा पुरातात्विक र ऐतिहासिक सम्पदामा क्षति पुगिरहेको संम्पदा संरक्षणविद् एवं काठमाडौं भ्याली प्रिजर्भेसन टष्ट्र निर्देशक डा. रोहित रंञ्जितकार बताउनुहुन्छ ।

दीर्घकालीन समाधानका लागि बाँदरलाई अन्यत्र सार्नुको विकल्प नभएको उहाँको सुझाव छ ।
हुन त विगतमा ललितपुर महानगरपालिकाको पहलमा बाँदर नियन्त्रणको लागि विज्ञसँग छलफल नगरेको पनि होइन ।

विज्ञले समेत तराईको चारकोसै झाडीमा स्थानान्तरण गर्न प्रतिवेदन सहितको सुझाव समेत दिएको थियो । तर, वन्यजन्तु ओसारप्रसार ऐन अनुसार बाँदर अन्यत्र सार्न नमिल्ने भएपछि त्यसै रोकियो ।
बाँदरले आतंक मच्चाउदा विश्व सम्पदा सूचीमा रहेको पाटन दरबारका सम्पदामा नकारात्मक असर पुगेका छन् । त्यति मात्र होइन, दरबार वरपर रहेको निजी घरहरूमा समेत बाँदरले क्षति पुर्याएको छ ।
कोत पाटीको छानामा रहेको झिंगटी उप्काएर फयाँक्दा पाकिङ्ग क्षेत्रमा रहेको सवारी साधनमा समेत क्षति पुगको छ ।

बाँदर आतंकले सम्पदाको विनास त भएको छ नै, स्थानीयले समेत सास्ती पाएका छन् ।
बाँदर स्थानान्तरण नै यहाँको समस्या समाधानको एकमात्र उपाए भएकाले सरकारले नै त्यसका लागि आवश्यक निर्णय गर्नुपर्ने संग्रहालयका निमित्त कार्यकारी निर्देशक लाखे बताउनुहुन्छ ।

मन्त्रिपरिषद्को निर्णयबाट मात्र बाँदर स्थानान्तरण गर्न सकिने भएकोले यसका लागि चाँडै पहल गर्न समेत उहाँको आग्रह छ ।
विश्व सम्पदामा सूचिकृत ऐतिहासिक सम्पदामा देखिएका समस्याको दीर्घकालीन समाधान खोज्नु आवश्यक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्