१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इन्धनमा मूल्यवृद्धि : सडकमा प्रभावहीन प्रदर्शन, उपभोक्ता र निगमका आ-आफ्नै तर्क


312
Shares

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले आम उपभोक्ता मारमा परिरहेको बेला ढाड सेकिने गरी पेट्रोलियम पदार्थमा हालसम्मकै उच्च वृद्धि भएको छ ।

डलरको मूल्य वृद्धिका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आयल निगम घाटामा रहेको जनाउँदै मूल्य वृद्धि जायज देखाउने तर्कप्रति आम नागरिक आक्रोसित देखिएका छन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर महंगिएर आयआर्जनको स्रोत कम हुँदा सरकारले निरीह जनतामाथि करको भार थपेको विधार्थीको भनाइ छ । यसले तल्लो तहका जनताको दैनिकी प्रत्यक्ष प्रभाव पर्ने भएकाले उनीहरूले मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

उपभोक्तालाई राहत दिने, मूल्य नियन्त्रण गर्ने दायित्व सरकारको हो । तर, उपभोक्तालाई करको भार थपेर सरकार चलाउने परिपाटी देखिएकोले नागरिक जागरुक हुनुपर्ने उपभोक्ता अधिकारकर्मी विष्णु तिमल्सिना बताउनुहुन्छ ।

यता आयल निगम भने अझै पनि १ लिटर पेट्रोलमा १३ रुपैयाँ २३ पैसाले घाटा रहेको र १५ दिनको पेट्रोलको व्यापारमा ४३ करोड घाटा रहेको बताउँछ । निगमलाई जोगाउन र बजारमा आपूर्ति सहजताका लागि मूल्यवृद्धि गर्नुपरेको प्रवक्ता विनितमणि उपाध्याय बताउनुहुन्छ ।

विद्युत् उत्पादन मनग्गे भइरहेको सरकारी दाबी छ । तर, त्यसलाई जनताको चुल्हो र यातायातमा प्रयोग गर्न नसक्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रत्यक्ष मारमा सर्वसाधारण पर्ने गरेका छन् ।

उत्पादित विद्युत्लाई सर्वसाधारणको दैनिक गतिविधिमा प्रयोगमा ल्याउन सके मात्र इन्धनको वैकल्पिक जोहोको बाटो खुल्न सक्ला कि ?