१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाग्लुङमा करोडौंको योजनामा सिँचाइ सुविधा


143
Shares

बागलुङ । बाग्लुङमा ४६ हजार १ सय ४८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ३० हजार ५ सय ३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । हालसम्म ६ हजार एक सय ४८ हेक्टर जमिनमा सिंँचाइको सहज पहुँच पुगेको भए पनि बाँकी जमिन अहिले पनि सुख्खा रहेको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमा हरेक वर्ष करोडौँका योजना पर्ने गरेका छन् । तर अझै धेरै खेतीयोग्य जमिन सिँचाइको अभावमा बाँझो छन् । चालु आर्थिक वर्षमा पनि जिल्ला भर ११७ वटा सिँचाइका योजना परेका छन् । यी सबै प्रदेश तथा संघीय सरकारबाट अनुदान प्राप्त योजनाहरु हुन् । जिल्लाको १० वटै पालिकाहरुमा योजनाहरु परेका छन् । सबैभन्दा बढी योजना गलकोट नगरपालिकामा र सबैभन्दा कम तमानखोला गाउँपालिकामा परेका छन् ।

सिंचाइका लागि केन्द्र सरकारले तीन करोड १० लाख र प्रदेश सरकारले १४ करोड तीन लाख २५ हजार गरि १७ करोड १३ लाख २५ हजार रुपैयाँ बजेट विनयोजन गरेको छ । जिल्लामा अधिकांश क्षेत्र पाखोबारी र केही भाग मात्रै समथर भूभाग भएको हुँदा सबै क्षेत्रमा सिँचाइको व्यवस्थापन गर्न कठिन रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख कुमार खड्काले बताउनुभयो ।

सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । गत वर्ष ५ हजार ८०० हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष ५ हजार ८५० बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि यस वर्ष जिल्लामा धान उत्पादन समेत बढेको पाइन्छ । गत वर्ष १८ हजार ६ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १९ हजार ९ सय ९५ मेट्रिक टन उत्पादन भएको छ ।

खेतीयोग्य जमिन भएको क्षेत्रमा अस्तव्यस्त रुपमा सडक खन्दा सिँचाइका कुलो तथा नहरहरु भत्किएपछि उर्वर जमिन बाँझो बन्दै गएको स्थानीय देव रिजालले बताउनुभयो ।

सरकारले खेतीयोग्य जमिनमा सहज रुपमा सिँचाइ पुर्‍याउन सके उत्पादनमा वृद्धि हुने निश्चित छ ।