
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताउनु भएको हो ।
सचिव रायमाझीले भन्नुभयो, ‘एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । किनभने यो सभामुख विधिसम्मत तरिकाले, देशको कानूनसम्मत तरिकाले नचलेको हुनाले हामी साथ दिन्छौँ ।’
उहाँले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताउनुभयो ।
सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताउनुभयो । उहाँले सत्ता महागठबन्धन लोभी पापीहरुको झुण्ड भएको र संसदको काम कारबाहीलाई सुचारु रुपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताउनुभयो ।
सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाउनुभयो । उहाँले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्