१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपतिका टहरा हटाउने मन्त्रीको उर्दीपछि के भन्छन् व्यवसायी ?

विस्थापित नभइ व्यवस्थापन गरिने काेषकाे भनाइ

1.911k
Shares

काठमाडौं । पशुपति क्षेत्रका घरटहरा १५ दिनभित्र हटाउने सरकारी उर्दीले त्यहाँको वातावरण तरंगित बनेको छ ।

सत्ता परिवर्तनसँगै परिवर्तन हुने कोषका पदाधिकारीहरूको आफू अनुकूलको निर्णयमा कोषको सम्पति पँजनी हुँदा यहाँ बारम्बार विवाद हुने गरेको छ ।

केही दिनअघि पर्यटनमन्त्री प्रेमबहादुर आलेले घर टहरा हटाउन कोषका पदाधिकारीलाई दबाब दिएपछि विभिन्न प्रतिक्रिया देखापरेका छन् ।

जति–जति मन्त्रीले दिएको आदेश दिनगन्ती नजिकिँदै जान्छ, उति–उति यहाँभित्र विवाद बेमेलका घटना छताछुल्ल हुँदै गएका छन् । अघिल्लो सञ्चालक समितिको हवाला दिएर हकभोक नछोड्ने कतिपयको अडान छ ।

सात वर्षदेखि सडकमा छाडा छोडिएका र घाइते गाईगोरूको संरक्षण गर्दै आएको नन्दी सेवास्थल भने मन्त्रीको यो निर्णयलाई स्वाभाविक मान्दैन । यसले धार्मिक भूमिको मर्म प्रहार गरेको सेवास्थलका सञ्चालक आरबी न्यौपाने बताउनुहुन्छ ।

पशुपति क्षेत्रमा रहेका सबै पशुपन्छीसँग भगवान शिवको सम्बन्ध रहेकाले यसको संरक्षणको को जिम्मा कोषको हुने त्यहाँका पदाधिकारीको भनाइ छ । कोषको हाताभित्र सेवाको नाममा व्यवसाय गर्न नपाइने तर्क कोषका सञ्चालक सदस्य देवीप्रसाद बराल बताउनुहुन्छ ।

वर्षौंदेखि पशुपतिमा फूल, उपहारका पसल चलाउनेहरूले भने आफ्नो रोजीरोटी चल्ने गरी व्यवस्थापन गरिदिन सरोकारवालासँग हारगुहार गरेका छन् । आफूहरूसँग हिजाे भएकाे सम्झाैता अनुसारकाे निर्णय भए काेषले छुट्याइदिएकाे स्थानमा बसेर व्यवसाय गर्ने उनीहरू बताउँछन् ।

पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन गरिएको सूचनाबाट कोही पनि आतङ्कित हुन नपर्ने कोषका सञ्चालक सदस्य बराल ढाडस दिनुहुन्छ । पहिलादेखि व्यवसाय गरिरहेकालाई विस्थापित नभइ व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

सार्वजनिक खपत र सस्तो लोकप्रियताका लागि भन्दा पनि दूरगामी प्रभाव हेरेर यस्ता निर्णय लिनु बुद्धिमानी ठहर्छ ।