१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


खोइ खुलामञ्च ?, भूमाफिया र व्यापारीले खाए


416
Shares

काठमाडौं । काठमाडौंको केन्द्रविन्दु मानिने टुँडिखेल खुलामञ्च । यो थलो मूलधारका राजनीतिक दलहरूको आधार पनि हो । राजनीतिक परिवर्तनको साक्षी खुलामञ्च अहिले बेवारिसजस्तै बनेको छ ।

कहिले बसपार्क त कहिले निर्माण सामग्री थुपार्ने थलो बन्दै आएको यही ठाउँबाट थुप्रै परिवर्तनका विगुल फुकिए । निरंकुशताविरुद्ध आवाज बुलन्द भए । परिवर्तनको अविरजात्रापछि जनतालाई सपना देखाइए ।

कुनै समय खुल्लामञ्चमा भएका सभामा मान्छे भरिएनन् भने दलहरू कमजोर भएको मानिन्थ्यो । राजनीतिक सुख होस् या दुःख हरेक समयमा सहयात्री बन्दै आएको यो थलो दलहरूले बिर्सदा अतिक्रमणको चपेटामा परेको छ ।

लोकतन्त्रवादी, गणतन्त्रवादी हुन् या राजावादी, सबैलाई समान हैसियत दिएको खुलामञ्चको मर्म बचाउन कसैको ध्यान गएको देखिँदैन । बरु उनीहरूले पार्टी प्यालेसमा आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी पार्टीहरूले खुलामञ्च भरिने गरी पटक–पटक आमसभा गरेका छन् । यी बाहेक अन्य दलले भने अहिलेसम्म मान्छे भर्न सकेका छैनन् ।

०४६ सालको आन्दोलन होस् वा ०६२/६३ को दोस्रो जनआन्दोलन, तत्कालीन राजतन्त्रको विरोध गर्दा टुँडिखेलको खुलामञ्च भरिभराउ थिए । त्यो इतिहास बोकेको खुलामञ्च अहिले भूमाफिया र व्यापारीले अतिक्रमण गरेका छन् ।

गणतन्त्र स्थापना भएपछि खुल्लामञ्चको चारैतिर सहिदको सालिक राख्ने गरी सरकारले समिति गठन गरेको थियो । तर, एक दशक बितिसक्दा पनि सरकारले खुल्लामञ्च जोगाउन सकेन ।

कहिले खुलामञ्चमा बसपार्क त कहिले पसलटहरा त कहिले निर्माणजन्य सामग्री राख्ने भण्डारण बन्ने गरेको छ । अहिले त खुलामञ्चसँगको साइनो नै मेटिएको छ । रक्षामन्त्री भइसक्नुभएका सांसद भीमसेनदास प्रधान भने खुलामन्चको साख जोगाउन आफूहरू लागि परेको बताउनुहुन्छ ।

खुल्लामञ्च मिच्ने काम नगर्न आफूहरूले सेनालाई सम्झाएको उहाँको भनाइ छ । आफूहरू सानैदेखि खेलेको र वीर अस्पतालमा उपचाररत बिरामीहरुको पनि घाम ताप्ने ठाउँ भएकाले वृहत् टुँडिखेल बनाउने अभियानमा रहेको उहाँ बताउनुहुन्छ ।

खण्डहर बनेको खुल्लामञ्च व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले पनि विभिन्न योजना ल्याएको दावी गर्छ । अहिले पनि विभिन्न संस्थाहरुको कार्यक्रम हुने गरेको उसको दावी छ । खुलामञ्चलाई पुनर्जीवन दिन महानगरपालिले नागरिकमैत्री पार्क बनाउने योजना बनाएको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ ।

खुलामञ्च सार्वजनिक सम्पति मात्र नभएर चेतनाको भावभूमि हो । राजनीतिक पार्टीहरूको गौरव हो । यही ठाउँबाट जनताका एजेण्डा अनुमोदन भएका इतिहासमा अनगिन्ती उदाहरण छन् । त्यसैले यसको गरिमा बचाउन सवै तह र तप्काको सक्रियता आवश्यक छ ।