
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यस वर्ष तेस्रोपटक हिमपात सुरु भएको छ । यसअघि मंसिर दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएकोमा बिहीबार दिउँसोदेखि पुनः हिमपात भएको हो ।
बिहीबार बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौं सिगास, मेलौलीलगायतका क्षेत्रमा हिमपात भएको छ ।
सतबाँझ क्षेत्रकाे हिमपातले महाकाली , खाेडपे, अनारखाेली क्षेत्रकाे हिमपातले दशरथचन्द राजमार्ग पनि अवरुद्ध भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयाे ।

यसका साथै डोटीको गैरा, डडेल्धुराको भिमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । विहानैदेखि वर्षा भएको र अपरान्हपछि हिउ पर्न सुरु भएको हो ।
हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राजमार्गको ढोल्यामोड क्षेत्रमा भारी हिमपात भएकोले राजमार्ग ठप्प भएको र खुलाउने प्रयास जारी रहेको छ ।’
यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘वर्षासँगै हिउँ परिरहेको छ, अत्यधिक चिसो छ, बाहिर निस्कनै मुस्किल भएको छ ।’

वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धाहरूलाई बढी असर गर्ने भएकाले उनीहरूको ख्याल गर्न आग्रह गरिएको छ ।
वर्षासँगै हिमपात भएपछि किसानहरू खुशी भएका छन् । हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्