
बागलुङ । बागलुङको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । उच्च लेकाली क्षेत्रमा भारी हिमपातका कारण निकै चिसो बढेको छ । हिमपातले जनजीवन कष्टकर भएको छ ।
जिल्लाको ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोल, गाजाको दहलगायतका उच्च क्षेत्रमा हिमपात भएको छ । यस पटक केही तल्लो भेगहरुमा पनि हिमपात भएको ढोरपाटन नगरपालिका–९ काधनवीर विकले जानकारी दिनुभयो ।
जिल्लाको ढोरपाटन नगरपालिकाको माथिल्लो क्षेत्रसँगै निसीखोला गाउँपालिकाको सिप, लुप्राबाङ, सिमाना, तमाखोला गाउँपालिकाको सोलेडाँडालगायतका स्थानमा भारी हिमपात भएको बताइएको छ । यस क्षेत्रमा बिहीबारदेखि हिमपात भएको निसीखोला गाउँपालिका–६ का वडाअध्यक्ष सूर्य बहादुर घर्ती मगरले जानकारी दिनुभयो । यस वर्ष पटक–पटक हिउँ परेपछि दैनिकी कष्टकर बनेको उहाँको भनाई छ ।
भारी हिमतातका कारण घरबाट बाहिर निस्किन नसकेको स्थानीय ओम घर्ती मगरले जानकारी दिनुभयो । उहाँले पशुचौपायलाई घाँसपात समेत दिन समस्या भएको बताउनुभयो । बाक्लो हिउँ जमेका कारण पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको घर्तीले बताउनुभयो ।
बागलुङ र पूर्वी रुकुम सिमा क्षेत्रमा दुई फिटभन्दा बढी हिउँ जमेको हुँदा बागलुङ–पूर्वी रुकुम सडकखण्ड अवरुद्ध भएको वडाअध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्