३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


सन्दकपुर गाउँपालिकाद्वारा २० वर्षे पर्यटन गुरुयोजना निर्माण शुरु


91
Shares

इलाम । तेस्रो मुलकका पर्यटकको आकर्षणको केन्द्र रहेको इलामको सन्दकपुर गाउँपालिकाले २० वर्षे पर्यटन गुरुयोजना निर्माणको काम शुरु गरेको छ ।

गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको काम शुरु भएको हो ।

तेस्रो मुलकका २ लाख भन्दा बढी पर्यटकको भ्रमण गराउने इलामको सन्दकपुर गाउँपालिकाले २० वर्षे गुरुयोजना निर्माणको काम शुरु गरेको छ ।

पर्यटकीय स्थलको व्यवस्थित विकासका लागि गुरुयोजना निर्माणको काम थालिएको हो । सन्दकपुर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि र पर्यटन विज्ञको प्रत्यक्ष सहभागितामा गुरुयोजना निर्माण थालिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनु भयो ।

गुरुयोजनामा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको अवस्था, प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय क्षेत्र वस्तुगत स्थिति र आवश्यक पर्ने बजेट उल्लेख हुनेछ ।

संघ, प्रदेश र पालिका आफैले लगानी गर्ने पर्यटकीय स्थलहरुको बारेमा गुरुयोजनामा समेटिने गाउँपालिका अध्यक्ष उदय राईले बताउनुभयो ।

गाउँपालिकाले तेस्रो मुलकका पर्यटकहरुको आकर्षण रहेको प्रदेश– १ को प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर र रामसार क्षेत्र घोषित पर्यटकीयस्थल माईपोखरी छिन्टापु सहित १२ पर्यटकीय स्थल प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्षमा बनाइसक्ने गुरुयोजनामा सबै पर्यटकीय स्थलको वस्तुगत अवस्था, जाति, धर्म, धार्मिक आस्थाका केन्द्र, प्राकृतिक सुन्दरताले भरिएका क्षेत्रहरु समेटिने छन् ।

सन्दकपूर, छिन्टापू, टोड्के झरना, जौबारी, कालपोखरी लगायतका थुप्रै पर्यटकीय स्थल सन्दकपुर पालिकामा छन् । गुरुयोजना निर्माणपछि पर्यटकीय स्थलहरुको व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।