२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रसुवामा हिमपात, जनजीवन प्रभावित


208
Shares

रसुवा । रसुवाको उच्च हिमाली भेग सहित धेरै स्थानमा हिमपात भएको छ । हिमपात भए सँगै बढेको चिसोले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ ।

गोसाइँकुण्ड, चन्दनवारी, ठूलोस्याफ्रु लाङ्टाङ, नाकथली तातोपानी गत्लाङ, जस्ता उच्च स्थानमा भारी हिमपात भएको हो भने जिल्लाको सदरमुकाम धुन्चे लगायतका आसपासमा समेत हिमपात भएको छ ।

जिल्लाको राम्चे, स्याउवारी, उत्तरगया गाँउपालिकाको तिरू एवं नौकुण्ड गाँउपालिकाको यार्सा, घाङमर, दोक्लाङमा समेत हिमपात हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

खेतियोग्य जमिनमा हिउँ पर्दा यस वर्ष गहुँ, तोरी र आलुजस्ता हिउँदे बालीलाई भने राम्रो भएको कृषकले बताएका छन् । हिमपातले जाडो बढेसँगैे बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

हिमपातका समयमा सर्वसाधारणलाई बाहिर ननिस्कन र घर भित्रै आगो बाली तातोमा रहन जिल्ला प्रशासन कार्यालय रसुवाले सबैमा अनुरोध गरेको छ ।