
काठमाडौं । बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित सम्मान गरेको हो । प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५/५ लाख प्रदान गर्नुभयो ।

यस्तै २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख रुपैयाँ दिइएको छ । गत पुसमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रहेको थियो ।
यसैबीच, सोही अवसरमा प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहाललाई पनि सम्मान गर्नुभएको छ । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लँदै इतिहास रचेको कारण प्रिन्सलाई सम्मान गरिएको हो ।
गत कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता भएको नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।

असोज १५ देखि ३० गतेसम्म भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक उपविजेता बनेको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रूपैयाँ नगद पुरस्काले पुरस्कृत गर्ने निर्णयअनुसार अल्मुताइरीलाई आज सम्मान गरिएको हो ।
अन्य खेलाडीलाई यसअघि नै सम्मान गरिसकिएको छ । अन्य खेलाडीलाई सम्मान गर्ने समयमा अल्मुताइरी भने नेपालमा थिएनन् ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजकाे पनि सहभागी हुनुहुन्थ्याे ।
प्रतिक्रिया दिनुहोस्