१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


देशभर वर्षा र हिमपात : कतै सास्ती, कतै मस्ती


273
Shares

काठमाडौं । पछिल्ला केहिदिन यता भएको अविरल वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिउँका कारण कर्णाली राजमार्ग अवरुद्ध छ ।

चिसोले आममानिसको दैनिकीमा असर गरेको छ । अझ वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा यसको गम्भीर प्रभाव देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्यून चापीय प्रणलीको सक्रिय प्रभाव परेकाले देशका अधिकांश स्थानमा गएराति देखि अविरल वर्षा र हिमपात भइरहेको हो ।

वर्षा र हिमपातको क्रम शनिबार दिउँसोदेखि केही दिनसम्मका लागि क्रमिक सुधार आउने महाशाखाको भनाइ छ । माघे वर्षाका कारण सडकमा व्यवसाय, पैदलयात्रीदेखि लिएर सवारी साधन आवतजावतमा समेत गम्भीर असर परेको छ ।

पानी नपर्दा धुलो र पानी पर्नासाथ हिलो हुने काठमाडौंको सडक वर्षासँगै अस्तव्यस्त देखियो । लामोदूरीका यातायातसँगै हवाई यातायात पनि ठप्प भए ।

पश्चिमी न्यून चापीय प्रणलीको सक्रिय प्रभाव देशैभरि भएको वर्षाले विशेष गरी उच्च पहाडी तथा हिमाली भेगमा बढी प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

वर्षा र हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेकाले चिसोबाट बच्न महाशाखाकी मौसमविद् मञ्चु बासी सबै नागरिकलाइ आग्रह गर्नुहुन्छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकाशं भू–भागमा पछिल्ला केहिदिनदेखि अविरल वर्षा भए पनि गएरातिबाट भने देशैभरि वर्षाको प्रभाव देखिएको थियो । शनिबारदेखि मौसममा सुधार आउने मौसमविद् बासीको भनाइ छ ।

काठमाडौं उपत्यका वरिपरिका डाँडामा समेत हिउँ परेको देखियो । हिउँ परेको खबर सुन्नासाथ काठमाडौं नजिकैका फुल्चोकी, सिमभञ्ज्याङ र चन्द्रागिरीमा हिउँसँग रमाइलो गर्नेको भीड लागेको छ ।

कोभिडको संक्रमणसँगै मौसममा देखिएको प्रतिकूल अवस्था ध्यानमा राखी स्वास्थ्य सुरक्षामा ध्यान दिन जरुरी छ ।