
हेटौंडा, माघ २१ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
गठबन्धन सरकार बनेको एक सय दिनमा गरेका उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो ।
पाण्डेले सार्वजनिक गरेको उपलब्धिमा मन्त्रालय विभाजन, सार्वजनिक बिदादेखि निःशुल्क रक्तसञ्चारसम्मलाई उल्लेख गरिएको छ । पाण्डेले सार्वजनिक गरेको उपलब्धिको पहिलो बुँदामा नै प्रदेश सरकारको आर्थिक रूपान्तरण गर्न, नागरिकलाई सरल र सहज गुणस्तरीय सेवा वृद्धि गरेको दाबी गरिएको छ ।
त्यस्तैगरी, मकवानपुर, चितवन र धादिङका चेपाङको राष्ट्रिय पर्व न्वागीमा सार्वजनिक बिदा दिने निर्णय गरिएको कुरा उल्लेख छ । आफूहरुले चेपाङ समुदायलाई सम्मान गरेर प्रदेश सरकारमा पनि सहभागी गराएको भन्दै पाण्डेले सो समुदायको सम्मानको लागि दिएको बिदा पनि आफूहरुको उपलब्धि भएको बताउनुभयो ।
बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको कार्यलाई पनि प्रदेश सरकारको उपलब्धिमा राखिएको छ । विगतमा जस्तोसुकै योजनालाई पनि बहुवर्षीय योजनाको रुपमा राख्ने गरेकाले आफूहरुले त्यसलाई व्यवस्थित बनाउन मापदण्ड तय गरेको उहाँको भनाइ छ ।
त्यस्तैगरी, प्रदेश सरकारको प्रशासकीय भवनको लागि जग्गा पहिचान समिति गठन, कोभिड–१९ व्यवस्थापन प्रदेश निर्देशक समिति गठन, रासायनिक मल कारखाना स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको कुरा उल्लेख गरिएको छ ।
पाण्डेले आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशको स्थायी बासिन्दालाई निःशुल्क रक्तसञ्चार उपलब्ध गराउने सरकारको निर्णयलाई पनि महत्वपूर्ण उपलब्धि ठान्नु भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेशमा ५७ अर्ब बजेट रहेको भन्दै सरकारले गरेका कार्यक्रमहरु खर्च नहुने बजेटहरुबाट रकमान्तर गरेर कार्य सम्पन्न गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्