१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जलवायु परिवर्तनका कारणले सगरमाथाको हिउँ पग्लने क्रम तीव्र


273
Shares

काठमाडौं । विश्वका सर्वोच्च शिखर सगरमाथाको माथिल्लो क्षेत्रबाट मानवीय अतिक्रमणका कारणले भएको जलवायु परिवर्तनले अति तीव्र गतिमा बरफ पग्लिँदै गएको पछिल्लो अध्ययनबाट देखिएको छ ।

नेचर जर्नलको क्लाइमेट एन्ड एट्मसफियरिक साइन्समामा प्रकाशित अध्ययन अुनसार मानविय गतिविधिका कारण विश्वको सर्वोच्च शिखरमा जम्मा हुन दशकौं लागेको हिउँ हरेक वर्ष तीव्र गतिमा पग्लिँदै गएको छ ।

सगरमाथाको ८ हजार २० मिटर उचाइ र आसपास क्षेत्रमा रहेको साउथकोल हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिम (बरफ) पछिल्लो करिब २५ वर्षमा पग्लिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

साउथकोल हिमनदीमा हिम जम्मा हुन लागेको समयभन्दा पग्लिने समय करिब ८० गुणा तीव्र देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

अध्ययनले जलवायु परिवर्तनको प्रभाव माथिल्लो हिमाली क्षेत्रमा आकलन गरिए भन्दा गम्भीर रूपमा पर्ने देखाएको अनुसन्धानकर्ताले बताएका छन् ।

सगरमाथासहित माथिल्लो हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावका कारण तीव्र गतिमा हिम पग्लिँदा त्यसको गम्भीर प्रभाव तल्लो तटीय क्षेत्रका बासिन्दा, उनीहरूको जनजीविका तथा खानेपानी, सिँचाइ र जलविद्युतमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनबाट साउथकोल हिमनदीको बरफ घट्नुमा मानवीय कारण भएको जलवायु परिवर्तन कारक रहेको स्पष्ट रुपमा देखिएको प्रतिवेदनमा जनाइएको छ ।

विशेषगरी सन् १९९० को दशक यता हिम पग्लिने क्रम तीव्र भएको देखिएको हो । पछिल्लो २५ वर्षमा साउथकोल हिमनदीले करिब ५५ मिटर हिम गुमाएको छ ।

सन् १९५० को दशकदेखि नै हिम गुम्ने क्रम सुरु भए पनि सन् १९९० दशकको पछिल्ला वर्षदेखि तीव्र गतिमा हिम पग्लिएको देखिने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।