१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पामा चुनढुंगाबाट राजस्व छली


1.105k
Shares

पाल्पा । पाल्पा चुनढुंगाका लागि चर्चित छ । यहाँबाट दैनिक २ हजार भन्दा बढी टिपर चुनढुंगा र डोलोमाइट निकासी हुन्छ ।

तर वर्षेनी चुनढुंगा निकासी र उत्खनन् परिमाण कम देखाएर राजस्व छली हुँदासमेत सम्बन्धित निकाय मौन छ ।पाल्पाको ज्यामिरे, रहवास,हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा, श्रीडाँडा,कचल, सिद्देश्वर लगायत एकदर्जन बढी स्थान चुनढुंगा खानीका लागि प्रख्यात छन् ।

तर, यस्तो की यहाँका कुनै पनि चुनढुंगा खानीले तौलका लागि धर्मकाँटा प्रयोग गर्दैनन् । पाल्पामा एउटा पनि सिमेन्ट उद्योग छैन । यहाँका चुनढुंगा संकलक उद्योगहरुले रूपन्देही, नवलपरासी र कपिलवस्तुका सिमेन्ट उद्योगलाई चुनढंगा पठाउने गरेका छन् ।

पाल्पाका चुनढुंगा खानीमा जथाभावी भइरहेको उत्खनन रोक्न र कडाइका साथ अनुगमन गर्न खानी तथा भूगर्भ विभागले डिभिजन वन कार्यालयलाई निर्देशन दिएको छ । गतवर्ष ४ उद्योगले जथाभावी गरेको भेटिएपछि छानबिन समितिले ७० करोड ५३ लाख रुपैया जरिवाना गर्न प्रतिवेदन मार्फत सुझाव दिएको थियो ।

चुनढुङ्गा उत्खननकै कारण अग्ला–अग्ला डाँडा नै अहिले होचा देखिन्छन् । उत्खननका लागि अनुमतिदिने, राजस्व लिने काम विभागले गर्छ । तर, चुनढुंगा उद्योगले बिना नापतौल जथाभावी उत्खनन गरेर चुनढुंगा लैजाने गर्दा पनि सम्बन्धित निकाय मौन बस्ने गरेको नेपाल पत्रकार महासंघ पाल्पाका पुर्व अध्यक्ष राजेश कुमार अर्यालको आरोप छ ।

तिनाउ–३ मरेकमा कञ्चनक्वेरिजले पनि २०६४ सालदेखि नै उत्खनन गरिरहेको छ । तिनाउ–५, गिट्टीखानी क्षेत्रमा डोलोमाइट चुनढुंगा प्रालिले पनि १० वर्षदेखि नै उत्खनन गरी रहेको छ । तिनाउ–१, कचलमा सर्वोत्तम सिमेन्टले, तिनाउ गाउँपालिका–५, कोलडाँडामा सत्यवती खानी उत्खनन प्रालिले चुनढुंगा निकाल्दै आएका छन् ।

तिनाउ–२ सुकेतालमा अल्फा कन्स्ट्रक्सन एन्ड डेभलोपर्स प्रालि, माथागढी–७, रहबासमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज प्रा लि ले, निस्दी–७, ज्यामिरेमा होङ्सी शिवम् सिमेन्ट प्रालि ले सिमेन्ट उद्योगका लागि चुनढुंगा लगेकाछन् ।

माथागढी–६, हात्तीलुङमाबीएस सिमेन्ट र रैनादेवीछहरा–१, सिद्देश्वरबाट सर्वोत्तमसिमेन्टले चुनढुंगा खानी उत्खनन गरिरहेका छन् ।

जिल्लाको स्रोत र साधनको मनपरी तरिका बाट दोहन हुदा भने सम्वन्धित गाउँपालिकाले चुनढुङ्गा कम्पनीले दिएको न्युनतम शुल्क मात्र लिने गरेको तिनाउ गाउँपालिकाका प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

राजनीतिक दलका नेताहरु, स्थानीय तथा कर्मचारीपनि चुनढुंगा खानीका विषयमा बोलेका छैनन । खानी सञ्चालकले उत्खनन र निकासी परिमाणको विवरण स्थानीयतह, जिल्ला समन्वय समिति कसैलाई पनि बुझाएका छैनन् ।

अख्तियारले मुद्दा दायर गरेपछि स्थानीय र केही राजनतिक दलले खानीका बारेमा यर्थाथ छानविन गर्न माग गरे पनि सुनुवाई भएको देखिदैन् ।