
काठमाडौं । वीर अस्पतालमा ६ वर्षदेखि रेडियोथेरापी मेसिन जडान हुन नसक्दा क्यान्सरको उपचार प्रभावित, सरकारी लापरवाहीले बिरामी महंगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भएका छन् ।
आमनागरिकलाई सस्तो र सुलभ सेवा दिने जिम्मा पाएको मुलुककै जेठो वीर अस्पतालमा क्यान्सरको उपचारमा प्रयोग हुने रेडियोथेरापी मेसिन ६ वर्षदेखि जडान हुन नसक्दा विरामी मारमा परेका छन् ।
यसले अस्पतालमा बिरामीको चाप कम भएको छ भने चिकित्सक समेत कामविहीन बनेका छन् ।
यो अस्पताल आउने क्यान्सरका ७० प्रतिशत बिरामी कम भएका छन् । २०७२ सालदेखि नै बिग्रिएको रेडियोथेरापी मेसिन अस्पतालले जडान नगर्दा क्यान्सर रोगीलाई अन्य अस्पतालमा रिफर गर्न अस्पताल प्रशासन बाध्य छ ।
मेसिन नहुदा चिकित्सकहरु नै कामविहीन बनेको गुनासो गर्छन । मेसिन भएको भए विरामीको संख्या थेगिनसक्नु हुने चिकित्सहरुको अनुभवले भन्छ । अहिले शल्यक्रिया र किमोथेरापी वाहेक अन्य सुविधा दुर्लभ छ ।
अस्पतालको अंकोलोजी विभाग प्रमुख डा. विवेक आर्चाय मेसिन नहँुदा धेरै बिरामीको चाप निकै कम भएको बताउनु हुन्छ अस्पतालमा तीन वर्षअघि ४७ करोड, ९० लाखको सी.टी सिमुलेटर र टोमोथेरापी मेसिन खरिद गरिएको थियो ।
तर २ बर्ष देखि मेसिन जडान नै नगरी राख्दा मेसिनमा खिया लागेका कारण प्रयोग गर्न समस्या भएको अस्पतालले जनाएको छ । जसका कारण मेसिन खरिद प्रकृयामा अस्पताल अल्मलिएको छ ।
मेसिन नहुँदाको मार विरामी साथै रेडियसन अंकोलोजी पढ्ने चिकित्सकलाई समेत परेको छ । नेपालमा वीर अस्पतालले मात्र रेडियसन अंकोलोजिष्ट चिकित्सक उत्पादन गर्छ ।
तर मेसिन नहुदा वीर पढ्न आएका चिकित्सकहरुलाई अस्पतालले १ बर्ष भक्तपुर क्यान्सर अस्पताल पठाउने गरेको छ ।
विकिरणको माध्यवाट क्यान्सरका सेल मार्ने र शरीरमा फैलन नदिन रेडियोथेरापी गरिन्छ । क्यान्सर रोग देखिएको सुरुवाती चरणमा वा फैलिएर अन्तिम चरणमा पुगेको समयमा रेडियोथेरापी उपचारको विकल्प हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार १० लाख जनसंख्यामा कम्तिमा पनि १ वटा रेडियोथेरापी मेसिन आवश्यक पर्छ । सो अनुसार नेपालमा ३० वटा मेसिन चाहिने हुन्छ ।
हाल यो मेसिन सरकारी अस्पताल तर्फ भक्तपुर क्यान्सर अस्पतालमा २, वीपी कोइराला क्यान्सर अस्पताल चितवनमा २ वटा मात्र रहेको छ ।
निजी तर्फ हरिसिद्धीको नेपाल क्यान्सर अस्पताल, काठमाडौ क्यान्सर केयर सेन्टर र वीएण्डसी क्यान्सर अस्पताल झापामा १-१ वटा मात्र रहेको छ । स्वास्थ्य र शिक्षामा मुलुकको आधा बजेट खर्च हुन्छ । तर यही क्षेत्र अनुत्पादक भएपछि प्रत्येक सरकार आलोचित हुने गरेका छन् ।
देशकै जेठो अस्पतालमा जनताको स्वास्थ्यमाथि गरिएको चरम लापर्वाहीको यो अवस्था जनताप्रतिको बेइमानी हो ।
प्रतिक्रिया दिनुहोस्