
बैतडी । हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबार दिउँसोदेखि बन्द रहेको हो ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधनबीच बाटोमै रोकिएका छन् । सवारी साधन रोकिएर सवारी आवागमन बन्द हुँदा यात्रुहरु समेत अलपत्र परेका छन् ।
अवरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जेसिबीको प्रयोग गरि राजमार्ग सूचारु गर्न हिउँ पन्छाउन थालिएको छ, बाक्लो हिउँ जमेकाका कारण ढिलाई भएको छ ।”
यसअघि बिहीबारदेखिनै अवरुद्ध रहेको यहाँका दशरथचन्द राजमार्ग, र महाकाली राजमार्ग भने शुक्रबार दिउँसोपछि सुचारु भएका थिए ।
प्रतिक्रिया दिनुहोस्