
काठमाडौं । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका लागि अस्पताल पुर्याएपछि मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया वसन्ती खड्का र ११ वर्षीया छोरी एलिसा खड्का रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य मृतकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घाइते भएका छन् ।
गम्भीर घाइते बेहुलीसहित तीन जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ । बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्