
एजेन्सी । फ्रान्सेली तटछेउको आन्ध्र महासागरमा एक लाखभन्दा बढी मरेका माछा छरिएको फेला परेको छ ।
पर्यावरण अभियानकर्ताहरूले खिचेको भिडिओमा समुद्रको सतहमा ठूलो संख्यामा मरेका माछा तैरिरहेको भेटिएको हो । यस विषयमा फ्रान्सको मत्स्य मामिलामन्त्रीले छानबिन गर्ने घोषणा गर्नुभएको छ ।
मत्स्य उद्योगले जारी गरेको एउटा विज्ञप्तिमा मार्जिरिस नामक विश्वको दोस्रो ठूलो ट्रोलर अर्थात् माछा मार्न प्रयोग गरिने विशेष जहाजको जाली चुँडिएपछि दुर्घटना भएको जानकारी दिएको उल्लेख छ ।
मृत माछाको विशाल थुप्रोको भिडिओ खिचेको द सी सेपर्ड फ्रान्स नामक पर्यावरणसम्बन्धी अभियान चलाउने समूहले माछाहरू ३ सय वर्गमिटर क्षेत्रफलमा फैलिएका छन् ।
उक्त समूहकी प्रमुख लाम्या इसेम्ललीले समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै अस्ट्रेलियाली जलक्षेत्रमा प्रतिबन्धित गरिएको भनिएको उक्त ट्रोलरबारे फ्रान्सेली सर्वसाधारणमाझ जनचेतना बढाउन चाहेको बताएकी छन् ।
युरोपेली सङ्घका पर्यावरण, समुद्र तथा माछासम्बन्धी मामिला हेर्ने एक आयुक्तले आफूले उक्त घटनाबारे पूर्ण जानकारी तथा प्रमाण खोजिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्