
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको हो ।
पार्टी निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले श्रीमानहरूले बनाएको वर्तमान सरकारले संविधान र कानुन उलंघन गर्ने धृष्टता गरिरहेको आरोप लगाउनुभयो ।
‘श्रीमान्हरूले बनाएको सरकार, श्रीमान्ले बनाएको प्रधानमन्त्री, यस्तो खालको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लंघन गर्ने धृष्टता गर्दैछ, कानुनलाई उलंघन गर्ने धृष्टता गर्दैछ,’ उहाँले भन्नुभयो, ‘यदि स्थानीय तहको निर्वाचन कानुन र संविधानले तय गरेको समयमै हुँदैन भने त्यसको विरुद्धमा देशव्यापी रूपमा जनपरिचालन हुन्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले संविधान र कानुन विपरीत काम गरे सञ्चारमाध्यमहरूले पनि विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी निकट सञ्चारकर्मीहरूलाई पार्टीको विचार प्रवाह गर्न र सही सूचना जनतामा पु¥याउने काममा केन्द्रित हुन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्