२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पुटिन र सीको सम्झौता अपमानजनक भएको भन्दै ताइवानद्वारा निन्दा


5.473k
Shares

एजेन्सी । ताइवानले शनिबार शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन अघि चीन र रुसका राष्ट्र प्रमुखले गरेको सम्झौतालाई अपमानजनक भन्दै निन्दा गरेको छ ।

रुसी राष्ट्रपति म्यादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको सीमाविहीन साझेदारीलाई ताइवानले अपमानजनक भन्दै निन्दा गरेको हो ।

चिनियाँ सरकारले खेलहरूको भावनालाई लज्जित तुल्याएको उसको भनाइ छ ।

ओलम्पिक उद्घाटन हुनुअघि सी चिनफिङ र भ्लादिमिर पुटिनले युक्रेन र ताइवान मामिलाबारे पश्चिमाविरुद्ध थप सहकार्य गर्ने वाचासहित एकअर्कालाई समर्थन गर्ने घोषणा गरेका थिए ।

रुसले प्रजातान्त्रिक रूपमा शासित ताइवान चीनको अविभाज्य भाग हो र यस टापुको लागि कुनै पनि प्रकारको स्वतन्त्रताको विरोध गर्ने चीनको अडानलाई समर्थन गरेको छ ।

ताइवानको विदेश मन्त्रालयले ताइवान चीनको हिस्सा हो भन्ने चीनको निरन्तर झूटो दाबीलाई फैलाउनु केही देशको बानी जस्तै भएको बताएको छ ।

यस्ता कदमले चिनियाँ सरकारको अहंकार र बदमासीप्रति ताइवानी जनताको घृणा झनै बढाउने आरोप विदेश मन्त्रालयले लगाएको छ ।

विश्वको नजर शीतकालीन ओलम्पिक खेलकुदमा केन्द्रित भएको बेला चिनियाँ सरकारले रुसी नेतासँगको भेटलाई अधिनायकवादको विस्तारमा संलग्न गराउन प्रयोग गरेको मन्त्रालयले जनाएको छ ।

‘यो ओलम्पिक रिंगहरू द्वारा मूर्तरूपमा शान्तिपूर्ण भावनाको अपमान हो, ताइवानका जनताले यसलाई अस्वीकार गर्छन्’, जारी विज्ञप्तिमा भनिएको छ ।

हालैका महिनाहरूमा, चीन र ताइवानबीच तनाव बढेको छ । चिनियाँ विमानहरूले आफ्नो वायु रक्षा क्षेत्र उल्लङ्घन गरेको ताइवानको आरोप छ ।