
नवलपुर/चितवन । स्थानीय तहका पदाधिकारीहरूले नारायणी नदीमा वर्खामा क्षति पुर्याउन सक्ने ठाउँमा तटबन्ध निर्माण गर्न संघीय सरकारलाई आग्रह गर्ने भएका छन् ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको नेतृत्वमा चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारीहरू सहितको संयुक्त टोलीले नारायणी किनारको अवलोकन गरेको हो । उनीहरूले क्षति हुन सक्ने ठाउँमा समयमै तटबन्ध गरिने बताए ।
नारायणी नदीले वर्खाको समय वर्षेनी कटान र डुवानमा पारेको भन्दै स्थानीयले गुनासो गरेपछि गैँडाकोट र भरतपुरतर्फ गरी दुवै ठाउँमा अवलोकन गरिएको हो ।
नगरप्रमुख पौडेलले चितवनतर्फ धेरै ठाउँमा तटवन्ध भएको र गैँडाकोटको ७ र ९ नम्वर वडातर्फ बढी क्षति हुन सक्ने भन्दै तटबन्धको काम सुरु गर्न संघीय सरकारलाई अनुरोध गर्ने बताउनुभयो ।
दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जनताको जिउधन जोगाउने दायित्व राज्यको भएकाले सोही अनुसार आफूहरूले कदम चाल्ने बताउनुभयो ।
दुवैतर्फ क्षति हुन नदिनेगरी आगामी दिनमा तटबन्धको कार्यलाई अघि बढाउने उहाँहरूको भनाइ थियो ।
टोलीले गैंडाकोट ७ र ९ तर्फको भाग तथा भरतपुर महानगरपालिकाको वडा नम्वर १६ को सानोगढी क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्